काठमाडौँ । सर्लाहीको चक्रघट्ट गाउँपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ । काठमाडौंबाट सर्लाहीको चक्रघट्टा गाउँपालिकातर्फ जादै गरेको यात्रुवाहक विद्युतीय सवारी साधन दुर्घटनामा परेर ज्यान गुमाएको नागरिकको शोकमा स्थानीय विदा दिइएको हो ।
कार्तिक २६ गते बिहान मकवानपुर जिल्लाको भीमफेदी क्षेत्रमा भएको उक्त भीषण दुर्घटनामा परि चक्रघट्टा गाउँपालिका वडा नं। ४, सुन्दरपुरका नागरिकहरूसहित अन्य यात्रीहरूको समेत दुःखद् निधन भएको थियो । गाउँपालिकाले सो मर्माहत दुर्घटनाबाटस्तब्ध भएको भन्दै ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
साथै, शोकाकुल परिवारजनमा गाउँपालिकाले गहिरो समवेदना प्रकट गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
गाउँपालिकाले मृतकका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ । पीडित परिवारजनलाई परेको अपूरणीय क्षतिप्रति सहानुभूति प्रकट गर्दै, मृतकको अन्तिम संस्कार तथा काजक्रिया कार्यमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाको तर्फबाट प्रत्येक मृतकका परिवारलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराइने निर्णय गरिएको हो ।
गाउँपालिकाका अनुसार कार्तिक २७ गते शुक्रबारका दिन चक्रघट्टा गाउँपालिका अन्तर्गतका गाउँ कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालयहरू, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालयहरू लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरू बन्द रहनेछन्। यस दिन सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालयहरूमा नियमित सेवा प्रवाह बन्द रहनेछ भने, स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने आपत्कालीन (आकस्मिक) स्वास्थ्य सेवा भने नियमित रूपमा सञ्चालन हुनेछ।



