काठमाडौं । स्थानीय तह निर्वाचनको लागि जय नेपाल पार्टीले ७७ वटै जिल्लाबाट सम्भावित उम्मेदवारको नाम संकलन गर्ने निर्णय गरेको छ ।
पार्टीका सभापति डा. धवलशमशेर राणाको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक सक्षम र ऊर्जावान् व्यक्तिहरूलाई पार्टीमा सम्पर्क गर्न आह्वान गर्ने निर्णय पनि गरेको छ ।
बैठकले सम्भावित उम्मेदवारहरूको नामावली देशका ७७ वटै जिल्लाबाट संकलन गर्ने निर्णय गरेको सचिवालय प्रमुख सगुन सुन्दर लावतीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संविधान संशोधनको लक्ष्यसहित यसअघि सार्वजनिक गरेका आठबुँदे संकल्पलाई अभियानका रूपमा जनतामाझ लैजाने निर्णय गरिएको छ । यसअघि नै सार्वजनिक गरिएका संकल्पमा संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य, महँगी नियन्त्रण, धर्मान्तरण तथा गौहत्यामा प्रतिबन्ध, बैंक तथा वित्तीय संस्थाका पीडितलाई न्याय र विदेशमा रहेका नेपालीलाई मताधिकारको सुनिश्चिततालगायत विषय समेटिएका छन् ।
बैठकले दसैँ, तिहार र छठका कारण स्थगित जिल्ला कार्यसमिति गठन प्रक्रियालाई पुनः सुचारु गर्ने र गठन हुन बाँकी जिल्लामा प्रक्रिया तीव्र बनाउने निर्णय पनि गरेको छ ।
यसैगरी, पार्टीले केन्द्रीय कार्यसमिति सदस्यमा नरेशकुमार राई, केशव पाण्डे र युवराजा रानालाई मनोनयन गरेको छ । सम्मानित सल्लाहकार समिति सदस्यमा देवेन्द्र पौडेल, टीका उप्रेती, राजकुमार कार्की र कमलराज विष्ट मनोनीत भएका छन् ।
कोशी प्रदेश इन्चार्जमा सुरेशप्रसाद आचार्य र संयोजकमा नरेशकुमार राईलाई जिम्मेवारी दिइएको छ ।
स्थानीय तह निर्वाचन गैरदलीय रूपमा सञ्चालन गर्नुपर्ने भन्दै यसबारे जनस्तरको राय संकलन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन प्रदेश तहका इन्चार्ज र संयोजकहरूलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।



