काठमाडौँ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना भएको छ ।
जिल्ला अदालत कास्कीले कास्की जिल्लाको सिर्जनाचोकमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकणमा दोषी ठहर गर्दै यस्तो फैसला गरेको हो । न्यायाधीश चन्द्रप्रकाश इजलासले कात्तिक १७ गते मेयर नेपालीसहित ७ जनालाई कैद सजाय, जरिबाना र बिगो रकम असुल गर्ने फैसला गरेको हो ।
यो फैसला २०८२ कात्तिक २५ कास्की जिल्ला अदालत कास्कीमा दायर भएको पुरक अभियोगपत्र अनुसार भएको हो । बागलुङको इमेज सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि बाङलुङ कारागार चलान भएका मेयर नेपालीसहित १५ जनाविरुद्ध पोखरामा अभियोग दर्ता भएको थियो ।
मेयर नेपालीसहित विरुद्ध अभियोग दर्ता गराउँदा सुरुमा ५ सय २४ जनाको जाहेरी परेको थियो । उनीहरुले ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ बिगो मागदाबी गरेका थिए ।
यस्तो जाहेरी दर्ता भएपनि मेयर नेपालीसँग ५ किस्तामा ४ सय जनाको मिलापत्र भएको थियो । तर, १ सय १० जनासँग भने मिलापत्र हुन सकेको थिएन । मिलापत्र हुन नसकेका व्यक्तिहैको जाहेरीका आधारमा झण्डै १८ करोड बिगो माग दाबी गर्दै १५ जनाविरुद्ध नै अभियोगपत्र दायर गरिएको थियो । सोही अभियोग पत्रका आधारमा इमेज सहकारी ठगीको मुद्दा फैसला भएको हो ।
फैसलामा सहकारीका सञ्चालकहरु चित्रबहादुर भण्डारी र शक्ति किसानलाई ७ वर्ष तथा अन्य ४ जना प्रतिवादीलाई ६ वर्षका दरले कैद सजाय तोकिएको छ । सञ्चालक चित्रबहादुर र शक्ति किसानलाई ७ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना तोकिएको छ । अन्य प्रतिवादीहरु निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङसहित ४ जनालाई जनही ६ वर्ष कैद सजाय र १ लाख २६ लाख २३ हजार रुपैयाँ नै जरिबाना गर्ने फैसला भएको छ ।
सो सहकारी ठगी प्रकरणमा अझै ८ जना फरार छन् ।
ढोरपाटन नगरपालिकाका मेयर नेपाली २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मेयरमा विजयी भएका थिए भने २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि मेयरमा विजयी भएका थिए । उनी नेकपा एमालेको तर्फबाट उम्मेदवार बनी विजयी भएका हुन् । उनले सहकारीका बचतकर्ताको रकम व्यक्तिगत स्वार्थ र सम्पत्ति आर्जनमा खर्च गरेको आरोप लागेको छ । मेयर नेपालीले बागलुङ, पोखरा, काठमाडौं, चितवनलगायतका विभिन्न ३३ ठाउँमा जग्गा किनेको भेटिएको थियो । खर्चिलो र बिलासी जीवन बाँचिरहेका नेपाली २०७४ सालमा तत्कालीन माओवादीबाट अघिल्लो दिन एमाले प्रवेश गरेर ढोरपाटन नगरपालिकाको टिकट हात पारेर विजयी भएका थिए ।



