काठमाडौँ । सरकारले सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनी, संस्था र व्यक्तिलाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले तयार पारेको १९ विधामा सबैभन्दा बढी कर दाखिला गर्ने करदाताहरु पुरस्कृत भएका हुन् ।
अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनी, संस्था तथा व्यक्तिलाई राष्ट्रिय सम्मान गरेका छन् ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताको रुपमा सूर्य नेपाल प्रालि पुरस्कृत भएको छ । व्यक्तिगततर्फ भने गत आर्थिक वर्षमा राजबहादुर शाहले सबैभन्दा बढी आयकर तिरेका छन् ।
एकलौटी फर्मतर्फ सबैभन्दा बढी आयकर थर्ड आई इन्टरनेशनलले तिरेको छ । वस्तुगत निर्याततर्फ डाबर नेपाल उत्कृष्ट करदाताको रुपमा पुरस्कृत भएको छ ।
सूचना प्रविधि निर्याततर्फ उत्कृष्ट करदाता विधामा इन्फानाइट सफ्टवेयर पुरस्कृत भएको छ भने कृषि एवं पशुपन्छीजन्य उद्योगमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने विधामा ओसिबी फुड्स एण्ड फिड्स प्रालि पुरस्कृत भएको छ ।
बैंकिङ क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने विधामा नबिल बैंक लिमिटेड पुरस्कृत भएको छ भने स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने विधामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड पुरस्कृत भएको छ ।
पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने विधामा सोल्टी होटल लिमिटेड पुरस्कृत भएको छ भने वस्तु व्यापारमध्ये आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता विधामा सिजी इम्पेक्स प्रालि पुरस्कृत भएको छ ।
वार्षिक ५० करोडभन्दा बढी र १०० करोडसम्म कारोबार गर्ने करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता विधामा फुड एण्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर पुरस्कृत भएको छ भने ऊर्जामूलक उद्योगमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता विधामा भोटेकोशी पावर कम्पनी प्रालि पुरस्कृत भएको छ ।
रेमिट्यान्स तथा मनी ट्रान्सफर कारोबारमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता विधामा आइएमई लिमिटेड पुरस्कृत भएको छ भने व्यक्तिगत आयमा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता विधामा राजबहादुर शाह पुरस्कृत भएका छन् ।
२०७७ साउनदेखि २०८३ असार मसान्तसम्म नियमित रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) विवरण र कर समयमा दाखिला गर्ने करदाता विधामा हिमालयन डिस्टिलरी लिमिटेड पुरस्कृत भएको छ भने वार्षिक ५० करोडसम्म कारोबार गर्ने करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने करदाता विधामा इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड पुरस्कृत भएको छ ।
विशेष उद्योगमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता विधामा वरुण बेभरेज नेपाल पुरस्कृत भएको छ भने जीवन बीमा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता विधामा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड पुरस्कृत भएको छ ।
निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता विधामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड पुरस्कृत भएको छ भने लघुवित्त क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता विधामा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड पुरस्कृत भएको छ ।



