मलद्वारभित्र लुकाएर ल्याएको सुनजस्तो पहेँलो पदार्थसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ केजी ८०३.७७ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चीनको जिलिन (Jilin) स्थायी वतन भएका ५८ वर्षीय जियानहुआ वाङ (Jianhua Wang) रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले मंगलबार (मंसिर २ गते) जारी गरेको प्रेस विज्ञप्तिअनुसार वाङ नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० (RA410) मार्फत हङकङबाट बिहान करिब १:२५ बजे काठमाडौँ अवतरण गरेका थिए।

विमानस्थलको आगमन कक्षमा भन्सार एरिया पार गरी बाहिर निस्कने क्रममा राहदानी नम्बर HJ2526727 वाहक वाङको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई चेकजाँच गरेको थियो। जाँचका क्रममा उनले आफ्नो मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाई छिपाई ल्याएको अवस्थामा चार थान गोलाकार पहेँलो अर्धठोस पदार्थ बरामद भएको हो। प्लास्टिकको र्‍यापसहित तौल गर्दा उक्त पदार्थ १ केजी ८०३.७७ ग्राम रहेको कार्यालयका सह–प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेले जानकारी दिए।

बरामद गरिएको उक्त पदार्थ र पक्राउ परेका चिनियाँ नागरिक वाङलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १२:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update