ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँग प्रभावकारी सहकार्य आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँगको सहकार्यलाई थप परिणाममुखी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनसँग मन्त्रालयमा भएको भेटवार्ताका क्रममा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र दीर्घकालीन ऊर्जा सुरक्षाका विषयलाई उच्च प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका हुन् ।

विपद् उत्थानशील पूर्वाधार र पूर्वतयारीमा जोड

भेटका क्रममा मन्त्री श्रेष्ठले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीलाई सम्भावित प्राकृतिक विपद्बाट जोगाउन जोखिममा आधारित पूर्वाधार योजना, संस्थागत समन्वय र प्रभावकारी पूर्वतयारी अपरिहार्य रहेको उल्लेख गरे । यसका लागि बहुप्रकोपीय पूर्वसूचना प्रणाली, जल तथा मौसमसम्बन्धी अनुगमन संयन्त्र, जलवायु जोखिम मूल्याङ्कन र विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

उत्पादनसँगै प्रसारण प्रणाली र ऊर्जा मिश्रणको रणनीति

नेपालको आगामी विद्युत् माग, औद्योगिक विकास, आन्तरिक खपत र क्षेत्रीय विद्युत् व्यापारलाई केन्द्रमा राखेर दीर्घकालीन विद्युत् उत्पादन योजना बनाउनुपर्ने विषयमा समेत दुई पक्षबीच छलफल भएको छ । मन्त्री श्रेष्ठले बढ्दो विद्युत् माग र औद्योगिक आवश्यकता सम्बोधन गर्न उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारमा लगानी विस्तार गरी ग्रिडका अवरोध हटाउनुपर्ने र निकासी क्षमता बढाउनुपर्ने धारणा राखे ।

ऊर्जा सुरक्षाका लागि जलविद्युतमा मात्र निर्भर नभई सौर्यलगायत अन्य नवीकरणीय ऊर्जा स्रोतको सन्तुलित विकास गर्नुपर्नेमा उनले जोड दिए । मौसमी विद्युत् उपलब्धताको व्यवस्थापन, ऊर्जा भण्डारण र ग्रिडको लचकता कायम राख्दै भरपर्दो आपूर्ति सुनिश्चित गर्न 'रणनीतिक ऊर्जा मिश्रण' आवश्यक रहेको उनको भनाइ थियो ।

एकीकृत र नतिजामुखी साझेदारीको तयारी

मन्त्रालयले विकास साझेदारहरूसँगको सहकार्यलाई थप व्यवस्थित बनाउने तयारी गरिरहेको जानकारी दिँदै मन्त्री श्रेष्ठले छरिएका कार्यक्रमलाई राष्ट्रिय प्राथमिकतासँग जोड्न विशेष समन्वय संयन्त्र निर्माण गर्न लागिएको बताए । विषयगत कार्यक्षेत्र, संस्थागत जिम्मेवारी, वित्तीय तथा प्राविधिक सहयोग र स्पष्ट समयसीमासहितको कार्ययोजनामार्फत सहकार्यलाई मापनयोग्य उपलब्धिमा आधारित बनाइने उनले स्पष्ट पारे ।

भेटवार्तामा नेपाल सरकार र विश्व बैंकबीचको भावी सहकार्यलाई समयसीमा र नतिजामा आधारित कार्ययोजनामार्फत अघि बढाउने तथा विपद् उत्थानशील ऊर्जा पूर्वाधार, वित्तीय दिगोपन र प्रणाली विस्तारलाई मुख्य प्राथमिकतामा राख्ने समझदारी भएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १९:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update