काठमाडौँ जिल्लालाई २४सै घण्टा खुला गर्ने प्रशासनको तयारी, वृहत् छलफलपछि निर्णय गरिने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले समग्र काठमाडौँ जिल्लालाई नै चौबिसै घण्टा खुला राख्ने गरी रणनीतिगत तयारी थालेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलका अनुसार सङ्घीय राजधानी काठमाडौँको यातायात, व्यापार–व्यवसाय, स्वास्थ्य सेवा, आपूर्ति व्यवस्था र सुरक्षाको भरपर्दो प्रबन्ध मिलाएर चौबिसै घण्टा खुला गर्ने गृहकार्य भइरहेको हो।

न्यूनतम पूर्वाधार र सुरक्षा प्रबन्धमा जोड यसअघि नै दरबारमार्ग र ठमेलजस्ता क्षेत्रहरूलाई चौबिसै घण्टा खुला गर्ने निर्णय भई ती क्षेत्र सञ्चालनमा आइसकेका छन्। अब समग्र जिल्लालाई नै २४सै घण्टा खुला राख्नका लागि भरपर्दो सुरक्षा व्यवस्थासहित सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सिसिटिभी (CCTV) र सडक बत्तीजस्ता न्यूनतम पूर्वाधारको पर्याप्त व्यवस्थापन गर्ने तयारी प्रशासनले गरिरहेको छ।

सरोकारवालासँग छिट्टै समन्वयात्मक बैठक निकट भविष्यमा काठमाडौँ जिल्लाभित्रका अन्य सम्पूर्ण स्थानका व्यापार, व्यवसाय र बजार क्षेत्रहरू चौबिसै घण्टा खुला गर्ने विषयमा स्थानीय तह, विभिन्न सरकारी विभाग तथा कार्यालयहरू, यातायात व्यवसायी र निजी क्षेत्रसमेतको सहभागितामा छिट्टै समन्वयात्मक बैठक आयोजना गरिने सूचनामा उल्लेख छ। वृहत् तयारी पूरा भएपछि मात्र काठमाडौँको समग्र क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय गरिने प्रशासनले स्पष्ट पारेको छ।

हाललाई पुरानै समय तालिका लागू हुने प्रशासनले आवश्यक तयारी र अर्को सूचना जारी नभएसम्मका लागि साविकमा चौबिसै घण्टा खुला गरिएका (दरबारमार्ग, ठमेललगायतका) क्षेत्रबाहेक अन्य स्थानका व्यवसायीहरूलाई पूर्ववत् रूपमा तोकिएको समयसम्म मात्र व्यापार–व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १३:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update