काठमाडौँ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
गए राति १ः५५ बजेको समयमा लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो गाडी उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।
दुर्घटनामा बोलेरोमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ बस्ने अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
घाइते हुनेहरूमा रुबीभ्याली गाउँपालिका–४ का ३५ वर्षीया कान्छीमाया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, १४ वर्षीय कमल घले, ३३ वर्षीया मिजोङ तामाङ, २० वर्षीय विमल तामाङ र ४० वर्षीय चेरोङ तामाङ रहेका छन्। त्यस्तै, बोलेरो चालक धादिङको खनियाबास गाउँपालिका–१ निवासी ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–११ निवासी २५ वर्षीय ललित बोम्जन पनि घाइते भएका छन्।
घाइतेमध्ये आमोष तामाङ, मिजोङ तामाङ र चालक डम्बर तामाङको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेको अवस्था मध्यम रहेको छ। गम्भीर घाइते भएका ६ जनालाई थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको प्रहरीले जानकारी दिएको छ ।




