उदयपुरका तीन स्थानीय तहमा भूमि प्रशासन सेवा अनिवार्य सञ्चालन गर्न निर्देशन

 

काठमाडौँ । उदयपुरका तीन स्थानीय तहले भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने भएको छ ।

भूमि सुधार तथा मालपोत कार्यालय कटारीले कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकालाई पत्राचार गर्दै स्थानीय स्तरबाटै भूमि प्रशासन सेवा सञ्चालन गर्न भनेको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णय तथा सूचनाअनुसार भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह स्थानीय तहबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन पत्राचार गरिएको कार्यालयले जनाएको छ।

मन्त्रालयले भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह स्थानीय तहबाट सञ्चालन गर्ने विषयमा सूचना जारी गरेको र उक्त सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र सेवा सञ्चालन गरिसक्नुपर्ने व्यवस्था रहेको पत्रमा उल्लेख छ।

सोही व्यवस्थाअनुसार कार्यालयको कार्यक्षेत्रभित्र पर्ने स्थानीय तहले तोकिएको समयभित्र अनिवार्य रूपमा भूमि प्रशासन सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने भूमि सुधार तथा मालपोत कार्यालय कटारीले जनाएको छ।

स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालन गर्ने क्रममा आवश्यक समन्वय तथा सहजीकरणका लागि कार्यालयले कम्प्युटर अपरेटर सुमनकुमार कटुवाललाई सम्पर्क व्यक्तिका रूपमा तोकेको छ। सेवा सञ्चालनसम्बन्धी प्राविधिक तथा अन्य आवश्यक जानकारीका लागि उनीसँग समन्वय गर्नसमेत पत्रमार्फत आग्रह गरिएको छ।

स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन हुँदा जग्गासम्बन्धी कामका लागि सेवाग्राहीले मालपोत कार्यालय धाउनुपर्ने बाध्यता कम हुने तथा सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update