काठमाडौँ । ओखलढुंगा जिल्लाका सातवटा स्थानीय तहबाट भूमि प्रशासन सम्बन्धी सेवा उपलब्ध हुने भएको छ । भूमि प्रशासन कार्यालय ओखलढुंगाले जिल्लाका ७ वटा स्थानीय तहलाई पत्राचार गर्दै भूमि प्रशासन सम्बन्धी सेवा अनिवार्य रुपमा संचालन गर्न भनेको हो ।
कार्यालयले सिद्धिचरण नगरपालिकासहित गाउँपालिकाहरु मानेभञ्ज्याङ, मोलुङ, चिसंखुगढी, सुनकोशी, लिखु र चम्पादेवी गाउँपालिकालाई पत्राचार गर्दै भूमि प्रशासन सम्बन्धी सेवा अनिवार्य रुपमा संचालन गर्न भनेको छ ।
जिल्लामा ८ वटा स्थानीय तह भएपनि अहिले पठाइएको पत्रमा खिजीदेम्बा गाउँपालिकाको नाम उल्लेख छैन ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशनअनुसार भूमि प्रशासन सेवा स्थानीय तहबाट सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनका लागि कार्यालयले सम्बन्धित पालिकाहरूलाई पत्राचार गरेको हो।
भूमि प्रशासन कार्यालय ओखलढुंगाले पठाएको पत्रमा सेवा सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरेको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहबाट भूमि प्रशासन सम्बन्धी सेवा अनिवार्य गर्न आवश्यक प्रबन्ध गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभागले मातहत कार्यालयहरुलाई पत्राचार गर्दै भूमि प्रशासनसम्बन्धी स्थानीय तहबाट सेवा प्रवाह गर्ने व्यवस्था कार्यान्वयन गर्न भनेको थियो। सोही व्यवस्थाअनुसार स्थानीय तहमा भूमि प्रशासन सेवा सञ्चालन गर्न आवश्यक तयारी, समन्वय तथा सहजीकरणका लागि भूमि प्रशासन कार्यालयले पत्राचार गरेको हो।
यस कार्यका लागि भूमि प्रशासन कार्यालय ओखलढुंगाका खरिदार हिम बहादुर थापालाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकिएको छ। स्थानीय तहमा सेवा सञ्चालनसम्बन्धी आवश्यक समन्वय, सहजीकरण तथा जानकारी आदानप्रदानका लागि उनलाई जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।
भूमि प्रशासन सेवा स्थानीय तहबाट सञ्चालन हुने व्यवस्थाले नागरिकलाई भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय स्तरमै उपलब्ध गराउने तथा सेवा प्रवाहलाई सहज बनाउने अपेक्षा गरिएको छ।




