काठमाडौँ । नेपाली कांग्रेसले ७५३ स्थानीय तहमै ‘हामी तयार छौं अभियान’ संचालन गर्ने भएको छ ।
सो अभियानमा खटिने प्रतिनिधिहरुलाई सभापति गगनकुमार थापाको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार अभिमुखीकरण कार्यक्रम भोलि (मंसिर १३ गते आइतबार) संचालन हुनेछ । कार्यक्रममा काठमाडौँ उपत्यकाभित्र रहेका सबै प्रतिनिधिलाई अनिवार्य रुपमा उपस्थित हुन भनिएको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिए ।
उपत्यका बाहिर रहेका प्रतिनिधिलाई जुम बैठकबाट अभिमुखीकरण कार्यक्रममा सहभागी गराइने नेपाली कांग्रेसले जानकारी दिएको छ ।
कांग्रेसले स्थानीय तह निर्वाचन नजिकिन लागेको सन्दर्भमा हामी तयार छौं अभियान संचालन गर्न लागेको हो । यस्तै, संस्थापन इतर (नियमित महाधिवेशन) पक्षले समानान्तर रुपमा १५औं महाधिवेशन संचालन गर्न लागेको सन्दर्भमा पनि यो कार्यक्रम संचालन गर्न लागिएको बताइएको छ ।
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनको ५ वर्षे अवधि पूरा हुन लागेको छ । यसैकारण आगामी बैशाख भित्रमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने वाध्यात्मक अवस्था छ ।




