काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको आयोजनामा नवौं सामाजिक सुरक्षा दिवस २०८३ सम्पन्न भएको छ । मंसिर ११ गते काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सामाजिक सुरक्षा दिवस मनाइएको हो ।
नेपालको संविधानको धारा ३४ मा श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई मौलिक हकको रुपमा स्थापित गरिएको छ । सो हकलाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यका साथ योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिम स्थापित सामाजिक सुरक्षा कोष स्थापना गरिएको छ । कोषले मङ्सिर ११ गते नवौं सामाजिक सुरक्षा दिवस मनाएको हो ।
२०७५ मङ्सिर ११ गते औपचारिक क्षेत्रका निजी सङ्गठित संस्था र श्रमिकबाट सुरु भएको सामाजिक सुरक्षाको अभियान हाल वैदेशिक रोजगारी, अनौपचारिक क्षेत्र तथा देशभित्र स्वरोजगारमा रहेका श्रमिकहरूसम्म विस्तार भइसकेको छ । सामाजिक सुरक्षा दिवसमा कोषले आफ्नो स्थापनादेखि हालसम्मका उपलब्धिहरू सार्वजनिक गर्दै सामाजिक सुरक्षाको दायरा विस्तार, संस्थागत सुदृढीकरण तथा योगदानकर्तामैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
काठमाडौँमा आयोजित औपचारिक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रमुख अतिथिका रूपमा उपस्थित भए । यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय मन्त्री सीता बादी, राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गाना, सांसद सुशान्त वैदिकलगायत मन्त्रालयका सचिव, सामाजिक सुरक्षा कोषका सञ्चालक समितिका अध्यक्ष तथा रोजगारदाता र श्रमिकको प्रतिनिधि लगायत अन्य विशिष्ट व्यक्तित्वहरू सो कार्यक्रममा सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले सामाजिक सुरक्षा कोषलाई समुन्नत, समावेशी तथा लोककल्याणकारी राज्य निर्माणको आधारस्तम्भका रूपमा विकास गर्नु सरकारको प्राथमिकता रहेको बताए । कोषको दायरा विस्तारलाई प्रभावकारी बनाउने गरी पर्याप्त बजेट विनियोजन गर्ने उनले जानकारी दिए । कोषमा सङ्कलित रकमलाई योगदानकर्ताको न्यूनतम दायित्व तथा प्रतिफल सुनिश्चित हुने गरी निश्चित ब्याजदरमा परिचालन गर्दै राष्ट्रिय पूर्वाधार विकास र आर्थिक समृद्धिसँग जोड्ने सम्भावनाबारे समेत सरकारले काम गरिरहेको अर्थमन्त्री डा. वाग्लेको भनाइ छ ।
सामाजिक सुरक्ष कोषको दायरा विस्तार, संस्थागत सुबुद्दीकरण र दीर्घकालीन वित्तीय दिगोपनाका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको भन्दै उनले ३ वर्ष अघिएको सामाजिक सुरक्षा कोषसँग जोडिएको रोचक प्रसंग पनि सुनाए ।
‘३ वर्ष पहिला म प्रतिनिधिसभाको सदस्य मात्रै थिएँ । अर्थ समितिको सदस्य पनि भएकोले सामाजिक सुरक्षा कोषका प्रतिनिधिहरु आउनु भएको थियो र हामीहरु बजेट विनियोजनका लागि अर्थमन्त्रीलाई भन्न गएका थियौं । यसपालि पनि केही योजना र कार्यक्रमहरु परेका छन् । आगामी वर्षको बजेटमा भने हामी ढोल बाजा बजाएर नै सामाजिक सुरक्षा कोषका विषयमा भन्नेछौं,’ अर्थमन्त्री डा. वाग्लेले भने ।
मन्त्री वादीले सामाजिक सुरक्षा कोषको दायरा विस्तार गरी सबै श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड दिइन् । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई प्रभावकारी, समावेशी र दिगो बनाउँदै योगदानकर्ताले सहज रूपमा कोषका सुविधा प्राप्त गर्न सक्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।
उनले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउने जानकारी दिइन् । सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेट्ने सरकारको नीति रहेको उनको भनाइ छ ।
उनले सामाजिक सुरक्षा सबै श्रमिकको साझा अधिकार र सुरक्षित भविष्यको आधार भएको उल्लेख गर्दै सरकारले यसको दायरा विस्तारका लागि नीतिगत तथा संस्थागत पहल अघि बढाएको बताइन् ।
मन्त्री बादीका अनुसार चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कोष खर्च शीर्षकअन्तर्गत विनियोजित १ अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने प्रक्रिया थालनी गरिएको छ।
त्यसैगरी, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सङ्घीय सरकारले सहयोगदान गर्ने व्यवस्था अघि बढाइएको छ। स्थानीय तहको सहयोगदानसहित कोषमा आबद्ध हुने श्रमिकका लागि हाललाई एक प्रतिशत बराबरको सहयोगदान सङ्घीय सरकारले जम्मा गरिदिने व्यवस्था तयार गरिएको मन्त्री बादीले जानकारी दिइन् ।
सरकारका उच्च पदाधिकारीदेखि आधारभूत तहमा श्रम गर्ने नागरिकसम्म सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले प्रधानमन्त्री, मन्त्री तथा सङ्घीय सांसदहरूलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको भन्दै उनले सामाजिक सुरक्षा प्रणालीको विस्तारसँगै यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न निकाय तथा क्षेत्रमा छरिएर रहेका कल्याणकारी कोष र सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई एकीकृत तथा समन्वय गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
राष्ट्रिय योजना आयोगका माननीय सदस्य रेशु अर्याल ढुङ्गानाले सामाजिक सुरक्षा कोषको महत्त्व र यसको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै कोषलाई थप प्रभावकारी र सर्वव्यापी बनाउन आवश्यक नीतिगत तथा संस्थागत पहल भइरहेको उल्लेख गरिन् । सांसद सुशान्त वैदिकले सामाजिक सुरक्षा कोषको अनिवार्य आवद्धताको महत्त्व उल्लेख गर्दै सामाजिक सुरक्षाविना समृद्ध राष्ट्र निर्माणको परिकल्पना अपूर्ण रहने धारणा व्यक्त गरे । सबै श्रमिक तथा नागरिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने र कोषमा सङ्कलित रकमलाई सुरक्षित तथा प्रतिफलमूलक रूपमा राष्ट्रिय पूर्वाधार विकासमा परिचालन गर्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा रोजगारदाताका तर्फबाट प्रबलजंग पाण्डे लगायतका सबै प्रतीनिधिहरुले सबै रोजगारदातालाई अनिवार्य आवद्ध गराउने गरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए भने श्रमिकका तर्फबाट विनोद श्रेष्ठले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने तथा सामाजिक सुरक्षा कोषको सफल कार्यान्वयनका लागि श्रमिक सङ्गठन र रोजगारदाता सरकारसँगै रहेको प्रतिबद्धता व्यक्त गरे ।
मन्त्रालयका सचिव तथा कोषका सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर राउतले सामाजिक सुरक्षा कोषको दायरा विस्तार, संस्थागत क्षमता अभिवृद्धि र योगदानकर्तालाई प्रभावकारी सेवा उपलब्ध गराउने बिषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
कोषको प्रगति विवरण
योगदानकर्ता र रोजगारदाताको विश्वास नेपाल सरकारको सहयोग र कोषका कर्मचारीको लगनशीलताका कारण कोषको नवाँ वर्षगाठ मनाउदै गर्दा कोपले उल्लेखनीय प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को मंसिर १० सम्म आइपुग्दा कोषमा कुल २४ हजार ६ रोजगारदाता प्रतिष्ठानहरू आबद्ध भएका छन् । त्यसैगरी औपचारिक क्षेत्रका ८ लाख ४३६, वैदेशिक रोजगारी क्षेत्रका २५ लाख ८५२ र देशभित्रका अनौपचारिक क्षेत्रका श्रमिक २१० तथा स्वरोजगार क्षेत्रका १५८८ गरी कुल ३३ लाख ४ हजार ८६ जना योगदानकर्ताहरू सामाजिक सुरक्षाको छातामुनि समेटिएका छन् ।
समीक्षा अवधिसम्म वृद्ध अवस्था सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, अतिरिक्त योगदान र लगानी प्रतिफलसमेत गरी कोषमा कुल १ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ योगदान रकम सङ्कलन भएको छ ।
हालसम्म बीमा र अवकाश दाबीबापत विभिन्न योजनाअन्तर्गत कुल २३ अर्ब ९० करोड ७५ लाख रुपैयाँ रकम भुक्तानी भइसकेको छ । सङ्कलित कोषको सुरक्षित तथा प्रतिफलमूलक परिचालनका लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, राष्ट्र बैंकको ट्रेजरी बिल विकास ऋणपत्र, योगदानकर्ता कर्जालगायतका विभिन्न ७ वटा क्षेत्रमा कुल १ खर्ब ५८ लाख रुपैयाँ लगानी गरिएको सो अवसरमा जानकारी दिइयो ।
सेवा प्रवाहलाई प्रविधिमैत्री र सर्वसुलभ बनाउन कोषको सूचना व्यवस्थापन प्रणालीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग आबद्ध गरी एपिआइ मार्फत तथ्याङ्क आदानप्रदान सुरु गरिएको छ । हालसम्म देशभरका २९० स्थानीय तह कोषमा आबद्ध भइसकेका छन् भने ११७ वटा सूचीकृत स्वास्थ्य संस्थामार्फत योगदानकर्ताले नगदरहित उपचार सेवा प्राप्त गरिरहेका छन् । साथै, हालसम्म प्राप्त गुनासामध्ये ९८.४३ प्रतिशत गुनासाहरूको सफल समाधान गरिएको छ भने कल सेन्टरमार्फत दैनिक औसत ७०० भन्दा बढी जिज्ञासाहरूको सम्बोधन हुँदै आएको छ ।
आगामी प्रतिबद्धता तथा कार्यदिशा हालसम्मका उपलब्धिहरू उत्साहजनक रहे तापनि अझै धेरै श्रमिकहरू सामाजिक सुरक्षाको दायराबाहिर रहेको यथार्थलाई आत्मसात् गर्दै कोषले आगामी दिनमा दायरा विस्तारलाई प्रमुख प्राथमिकतामा राख्ने छ । घरेलु कामदार, कृषक, प्लेटफर्म श्रमिक, स्वरोजगार, वैदेशिक रोजगारीमा रहेका तथा दुर्गम क्षेत्रका श्रमिकसम्म पुग्न स्थानीय तह र सरोकारवालासँगको समन्वयमा विशेष अभियान सञ्चालन गरिने कोषको भनाइ छ । यस क्रममा महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिइने जानकारी दिइएको छ ।
सङ्ग, प्रदेश र स्थानीय तहमा कार्यरत सरकारी कर्मचारी तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत पहललाई बढाइने छ । अनौपचारिक क्षेत्रका श्रमिकहरूको सह(योगदानसम्बन्धी व्यवस्था कार्यान्वयनका लागि सरकार तथा स्थानीय तहसँग समन्वय गरिने छ ।




