बिकेन इलाम र झापाको चिया, गोदाममै थन्कियो एक करोड केजी 

काठमाडौँ । इलाम र झापाका कृषकले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । ६ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब १ करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् । 

इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उद्योगका गोदाममा थन्किएको छ । भारतले समयमै चियाको मूल्य निर्धारण नगरेको र र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा यति ठूलो मात्रामा चिया गोदामै थन्किएको उनीहरुको गुनासो छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुधबार विर्तामोडमा आयोजना गरेको स्थानीय, प्रदेश सरकार एवं सरोकारवाला संलग्न चियासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा चिया व्यवसायीले सरकारले चिया उद्यमीका समस्यामा उचित ध्यान नदिँदा समस्या आएको गुनासो गरेका हुन् । 

झापाका चिया उद्योगी जेपी शर्माले १३ वटा उद्योगले उत्पादन गरेको करिब ५० देखि ६० लाख केजी सीटिसी चिया असोजदेखि गोदामै थन्किएको बताए  । उनले चिया बिक्री नहुँदा मजदूरलाई समयमै पारिश्रमिक दिन नसकेको बताए ।

सरकारले अक्सन सेन्टर मात्र स्थापना गरिदिए चिया ब्रोकरमार्फत विश्व बजारसम्म बेच्न सकिने कृषकहरु बताउँछन् । 

ग्रीनहिल टि–इण्डस्ट्रिज इलामका प्रबन्धक गोपाल दाहालले कोशीका १७० वटा साना ठूला उद्योगले उत्पादन गरेको अर्थोडक्स चिया बिक्री नभएको बताए । प्रत्येक उद्योगका गोदाममा ३० हजार केजीका दरले तयारी चिया थन्किएको छ । 

चिया तथा कफी विकास बोर्डका प्रवक्ता  दीपक खनालले नेपालमा सिटिसी चियाको ५० प्रतिशत खपत हुने र बाँकी भारत निर्यात हुने गरेको बताए । उनले सिटिसी चिया आधा खपत हुने मुलुकमा अर्थोडक्स चिया भने १० प्रतिशत मात्र खपत हुने र ९० प्रतिशत भारतलगायत तेस्रो देश निर्यात हुने गरेको जानकारी दिए । सिटिसी चियाको तुलनामा अर्थोडक्स चिया महँगो हुने हुँदा मुलुकमा कम खपत हुने गरेको उनको भनाइ छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update