 
                                                                    काठमाडौं । ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिक सम्मान भत्तामा करिब ५ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रममार्फत ५ करोड १२ लाख ९० हजार खर्च गरेको महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
महानगरले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम तर्जुमा गरी ५ हजार दरले वितरण गर्ने कार्यक्रमलाई नगरसभाले संशोसन गरी वार्षिक १० हजार दरले वितरण गर्ने गरी निर्णय गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
महानगरले समाजिक सुरक्षा भत्ता प्रयोजनका लागि संकलित तथ्याङ्कअनुसार ७६ वर्षमाथिका ज्येष्ठ नागरिकको संख्या ५ हजार ३५ रहेको तथा सरकारबाट निवृत्तिभर लिने अझ थप संख्या रहेको थियो ।
यस आर्थिक वर्षमा २९ वडाका ७६ वर्ष नाघेका सम्पूर्ण जेष्ठ नागरिकहरुलाई १० हजारका दरले ५ हजार १२९ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान भत्ताबापत ५ करोड १२ लाख ९० हजार वितरण गरेको हो
९४ जना समाजिक सुरक्षा भत्ता प्राप्त नगर्ने तर नेपाल सरकारबाट पेन्सन प्राप्त गर्ने जेष्ठ नागरिकहरुलाई समेत सम्मान भत्ता वितरण गरेकोले ती जेष्ठ नागरिकहरुको वडागत विवरण पेस भएको नपाइएको महालेखाले कमजोरी औँल्याएको छ ।
महानगरले ९४ जना जेष्ठ नागरिकहरुलाई प्रदान गरेको सम्मान भत्ता नेपाल सरकारबाट पेन्सन प्राप्त गर्ने ज्येष्ठ नागरिकहरु हुन भन्ने प्रमाण पेस हुनुपर्ने महालेखाले भनेको छ ।
ललितपुर महानगरलाई भुक्तानी दिँदा आर्थिक पारदर्शिता तथा आर्थिक अनुशासन पालनामा ध्यान दिन महालेखाले सुझावसमेत दिएको छ ।

 
                
            



 
                                         
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    