 
                                                                    काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलनको कसुरमा दायर भएको अभियोग पत्रमा अभियुक्तहरुले आश्चर्यचकित तुल्याउने बयान दिएका तथ्य खुलेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय पोखराले सहकारी ठगी, संगठिन अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा सहकारीका संचालक जिवी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलगायतविरुद्ध दायर गरेको अभियोग पत्रमा उल्लेखित एक वयान भने वास्तबमै आश्चर्य चकित तुल्याउने खालको छ ।
दायर भएको अभियोग पत्रमा अभियुक्त लिला पछाईंको बयान छ । सो वयानमा पछाईंले आफ्नो आर्थिक हैसियत कसरी बदलियो भन्ने खुलाएकी छिन् ।
पछाईंका अनुसार उनी २०७२ साल साउन १ गतेदेखि जिवी राई नै संचालक रहेको काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा क्यासियरको रुपमा जागिर सुरु गर्छिन् । सुरुमा उनको मासिक तलब जम्मा ८ हजार ५ सय रुपैयाँ छ ।
पछाईं स्वर्णलक्ष्मीमा ६ महिनाको लागि भनेर जागिर सुरु गर्छिन् । तर, उनको तरक्की अर्कै किसिमको हुन्छ । २०७३ साउनदेखि उनी जिवी राईको नेचर नेष्ट कम्पनीमा एकाउन्टेन्टको रुपमा जागिर सुरु गर्छिन् । नेचर नेष्टमा उनको तलब मासिक २० हजार तोकिन्छ । अर्थात एक वर्षअघि मासिक साढे ८ हजारमा जागिर सुरु गरेकी पछाईं एक वर्षपछि मासिक २० हजार तलब खाने जागिरमा पुग्छिन् । यो खासै ठूलो वा नौलो कुरा होइन ।
ठूलो र नौलो कुरा के हो भने मासिक २० हजारको तलब खाने लिलाले ललितपुरको खुमलटारमा घर किन्छिन्, गाडी खरिद गर्छिन् र स्कुटर पनि किन्छिन् । २०७३ साउन १ गतेबाट नेचर नेष्टमा काम सुरु गरेको २ दिनपछि अर्थात २०७३ साउन ३ गते लिलाको प्राइम बैंकमा रहेको खातामा सूर्यदर्शन सहकारीका थानबहादुर बुढाको नामबाट ५० लाख रुपैयाँ जम्मा हुन्छ । अनि जिवी राईले लिलालाई घर किन्न भनेर थप १ करोड ५० लाख रुपैयाँ दिन्छन् । अर्थात मासिक २० हजार रुपैयाँ तलब खाने आफ्नो कम्पनीका एकाउनटेन्टलाई जिवीले घर किन्न १ करोड ५० लाख रुपैयाँ दिन्छन् ।
यति मात्रै होइन, यही बीचमा लिलाले काठमाडौँको महाराजगन्ज र न्यूरोडमा शाखा रहेको स्वर्णलक्ष्मी सहकारीमा ५० लाख रुपैयाँ मुद्दति निक्षेप राख्छिन् । अझ अनौठो कुरा त के छ भने यही समयमा लिला पछाईंकी आमाले लिलासँग पैसा माग्छिन् । लिलाले यो कुरा जिवी राईलाई भन्छिन् । अनि जिवीले लिलाको नाममा रहेको नेपाल बैंकको खातामा ७४ लाख रुपैयाँ जम्मा गरिदिन्छन् । यो ७४ लाख रुपैयाँ सूर्यदर्शन सहकारीबाट जम्मा गरिएको हुन्छ ।
जिवी राईले लिला पछाईलाई सहकारी संस्था तथा व्यक्तिको नाममा दोस्रो बजारबाट सेयर किन्नको लागि रकम उपलब्ध गराउँछन् । लिलाले दिएको बयान अनुसार जिवीले लिलालाई सेयर किन्नको लागि भनेर ५ करोड १४ लाख २६ हजार रुपैयाँ दिन्छन् । लिलाले सेयर कारोबार गर्ने कम्पनी नासा सेक्युरिटीज (ब्रोकर नम्बर ५८) बाट करिब ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार पनि गर्छिन् ।
अभियोग पत्रमा उल्लेख भएको बयान अनुसार जिबी राईले ‘तिमीले काम गर्नु पर्दैन, मेरो व्यवसायलाई सपोर्ट गरी मेरो कम्पनीहरुको हिसावहरु हेरिदेउ, म तिम्रो जिन्दगी सहजीकरण गरिदिन्छु....भनि विश्वास दिलाउनु भएको कारण मैले निजको कुरामा सहमत जनाएपछि...’ लिला पछाइं उनको विश्वासपात्र बनेर ठूलो रकम परिचालन गर्न योग्य भएको पाइएको छ ।

 
                
            



 
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    