
काठमाडौँ । बागलुङ नगरपालिकाको न्यायिक समितिले आफ्ना १४ वटै वडाहरुमा न्यायिक संवाद, मेलमिलाप प्रबद्र्धन तथा विवाद दर्ता शिविर संचालन थालेकाे छ । बुधबारदेखि उक्त कार्यक्रम सुरु भएको हो ।
बागलुङ नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक राजु खड्काले न्यायिक समितिले गर्ने कार्यहरुलाई नगरका आमनागरिकहरुसम्म पुर्याउन जरुरी देखेर अभियानका रुपमा यो कार्यक्रम शुरु गरिएको बताए ।
‘कानुन सवै नागरिकहरुले थाहा पाउनुपर्ने हुन्छ तर कैयौ घटनाहरु कानुनको अज्ञानताले घटेका छन् भने घटना घटेपछि पनि पीडितले न्याय पाएका छैनन् । कतिपय नागरिकलाई घटना कहाँ भन्ने हो समेत थाहा छैन । यस्तो अवस्थामा खुल्ला रुपमा कानुनी कुराहरुबारे छलफल थालेका हौ,’ उनले भने ।
न्यायिक समितिमा आउने निवेदनहरु तथा वडा मेलमिलाप केन्द्रहरुमा हुने मेलमिलापको प्रकृयालाई विधिसम्मत बनाउन पनि यो अभियानले मद्धत गर्ने खड्काको भनाइ छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ को उपदफा १ र २ ले न्यायिक समितिलाई निश्चित प्रकृतिको देवानी तथा व्यक्तिवादी प्रकृतिको फौजदारी विवादमा विवादको निरुपण तथा मेलमिलापको माध्यमबाट विवाद समाधान गर्ने अधिकार दिएको छ । समुदायमा जानकारी गराउने र विवाद देखिएका स्थानबाट निवेदन पनि दर्ता गर्ने उद्धेश्यले अभियान शुरु गरिएको उपप्रमुख खड्काले जानकारी दिए ।
यो अभियानमा वडाका जनप्रतिनिधि, वडा सचिव, वडामा दलका प्रतिनिधि, मेलमिलापकर्ता, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, लैंगिक हिंसा निगरानी समितिका सदस्यलगायतका सरोकारवाला सहभागी थिए । नगरपालिकाले आगामी फागुन ३ गते मेलमिलापकर्ताहरुको नगर सम्मेलन पनि गर्दैछ ।