Odapalika - The Fourth Estate - चौथो अंग
बागलुङ नगरपालिकामा प्रभावकारी बन्दै ‘नगरकी छोरी’, १६८ को खुल्यो मुद्दती खाता

काठमाडौँ । बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमअन्र्तगत २ वर्षमा १६८ जना छोरीको मुद्दती खाता खोल्न सफल भएको छ । बागलुङ नगरपालिकाले ५ हजार रुपैयाँसहितको मुद्दती खाता छोरीलाई उपहार स्वरुप प्रदान गरिएको जनाएको छ ।

नगरपालिकाले २०८० साउनदेखि नगरपालिकाभित्र जन्मेका सबै छोरीलाई २० वर्षे मुद्दती खाता खोलेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकाले दुई वर्षमा नगरभित्र जन्मेका १६८ छोरीको खातामा ५ हजारका दरले ८ लाख ४० हजार रुपैयाँ जम्मा गरिसकेको छ ।

नगरपालिकाभित्रका १४ वटा वडामा जन्मिएका छोरीहरूको नाममा प्रभु बैंक लिमिटेड बागलुङ शाखामा खाता खोली नगद पाँच हजार नगरपालिकाले जम्मा गरिदिएको हो । 

नगरसभाद्वारा पारित नीति तथा कार्यक्रमअन्र्तगत अहिलेसम्म एक सय ६८ जना छोरीहरुको २० वर्षे मुद्दती खाता उपहार दिइएको र छोरी जन्माउनेलाई प्रोत्साहन गर्ने नगरको नीति रहेको मेयरको भनाइ छ । 

परिवारमा बचत गर्ने बानी बसाल्न नगरकी छोरी कार्यक्रम ल्याइएको उनको भनाइ छ । नगरकोे छोरी कार्यक्रम सञ्चालनका निम्ति कार्यविधि निर्माण गरेर कार्यान्वयन गरिएको छ । 

नगरकी छोरी कार्यक्रमको कार्यविधिको दफा ६ मा कोष सञ्चालनसम्बन्धी व्यवस्थाअनुसार छोरीहरूका लागि मुद्दती खाता सञ्चालन गरी प्रत्येक छोरीहरूका लागि एक पटक रु पाँच हजार जम्मा गर्ने प्रावधान छ । 

सो मुद्दती खातामा परिवारका सदस्यले रकम थप गर्न चाहेमा थप गर्न सक्ने, यसरी सञ्चालन भएको मुद्दती खाताको रकम छोरी २० वर्ष नपुगेसम्म झिक्न नमिल्ने कार्यविधिमा उल्लेख छ ।

नगरपालिकाले पहिलो छोरीको रूपमा बागलुङ नगरपालिका २ श्रीनगर टोलका दुर्गाबहादुर क्षेत्री र  मिलिमा केसीकी छोरी अद्धिका क्षेत्रीको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी गरेको थियो ।  
 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update