Odapalika - The Fourth Estate - चौथो अंग
तिला गाउँपालिकामा ७२ मेगावाट बिजुली उत्पादनको तयारी, प्रभावित ४ पालिकाबारे यस्तो आयो सूचना 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले जुम्लाको तिला गाउँपालिकाको जावा तिला अर्धजलाशययुक्त जलविद्युत आयोजनाको काम अघि बढाएको छ । 

प्राधिकरणले ७२.८६ मेगावाट बिजुली उत्पादनको काम थालेको भन्दै वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीका लागि क्षेत्र निर्धारणको काम थालेको छ । 

प्राधिकरणले प्रस्तावित आयोजना तिला गाउँपालिकामा बन्ने भन्दै हिमा र तातोपानीका साथै कालिकोटको तिलागुफा नगरपालिकाका केही वडालाई प्रभावित क्षेत्रका रुपमा समेटेको छ । 

प्राधिकरणका अनुसार यो योजनाबाट जुम्लाको तिला गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ७ र ८ हिमा गाउँपालिकाको वडा नम्बर ७, तातोपानी गाउँपालिकाको वडा नम्बर १ र कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर १ मा प्रभाव पर्नेछ । 

तिला  नदीमा प्रस्ताव गरिएको यो माग उच्च रहेको बेला दैनिक ६ घन्टा (बिहान २ घन्टा बेलुका ४ घन्टा) बिजुली उत्पादन गर्नेछ । 

आयोजनाका लागि जुम्लाको तिला गाउँपालिकाको रारालिको पातर साँधुमा १८ मिटर अग्लो तथा ५७.५० मिटर लामो बाँध निर्माण गरिनेछ । जसका कारण ०.१८४ घनमिटर पानी तिला नदीमा जम्मा हुनेछ । बाँधबाट ६.४२३ किलोमिटर लामो सुरुङमार्फत पानी नाग्मा नजिकै रहने विद्युतगृहमा खसाइनेछ । 

विद्युत गृहमा ३६.४३ मोगावाट क्षमताका २ वटा टर्वाइन रहनेछ भने विद्युत उत्पादन पछि पानी पुन तिला नदीमा छाडिने योजना छ । 

यो परियोजनाका लागि प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकनको काम गरिरहेको भन्दै प्रभावित क्षेत्रका स्थानीय जनता स्थानीय सरकार, विद्यालय, स्वास्थ्य चौकी लगायतसँग ७ दिनभित्रमा राय सुझाव उपलव्ध गराउनसमेत आग्रह गरेको छ । 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update