
काठमाडौँ । खोटाङको रावाबेँसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसारका सम्पूर्ण सूचक पूरा गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।
६ वडा रहेको रावाबेँसीमा जन्मेदेखि १५ महिनासम्मका १४८ बालबालिकाले नियमित तथा १६ महिनादेखि ५ वर्षसम्मका ५२५ बालबालिकाले पूर्ण खोप लगाएका छन् ।
सरकारले जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिसलगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम् गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठलाई हस्तान्तरण गरे । सो अवसरमा खोप अभियानमा खटिने स्वास्थ्यकर्मी र महिला स्वयंसेविकालाई सम्मान गरिएको छ ।