
काठमाडौँ । कर्मचारी रोज्ने जनप्रतिनिधि, सरुवा भएको ठाउँमा जानै नमान्ने प्रमुख प्रशासकीय अधिकृत र सरुवा तथा कामकाजका लागि खटाएको स्थानमा कडाइका साथ पठाउनै नसक्ने संघीय मन्त्रालयका कारण स्थानीय तहका हाकिम सरुवा भद्रगोल बन्दै गएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवामा समान मापदण्ड र कडाइका साथ सरुवा तथा कामकाज कार्यान्वयन गराउन नसक्दा भक्तपुरका एकजना प्रमुख प्रशासकीय अधिकृत ३८ दिनसम्म पनि सिंहदरवार पुग्न सकेका छैनन् ।
उता बाराको निजगढ नगरपालिकाबाट सरुवा भएका अर्का हाकिम पनि ३८ दिनदेखि हाजिर गरेर काम गर्ने ठाउँ खाली नहुँदा अलपत्र छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत १४ चैतमा भक्तपुरको सुर्यबिनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेललाई सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय अधिृकतबाट सरुवा गरेर मन्त्रालयको अतिरिक्त समूहमा लग्यो ।
हेर्नुहोस् लुइँटेललाई मन्त्रालयले दिएको सरुवाको पत्र
लुइँटेललाई सरुवा गरेपछि खाली भएको स्थानमा बाराको निजगढ नगरपालिकामा कार्यरत युवराज आचार्यलाई सुर्यविनायक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कामकाज गर्न खटायो ।
हेर्नुहोस् आचार्यलाई कामकाजका लागि मन्त्रालयले दिएको पत्र
तर दुवै प्रमुख प्रशासकीय अधिकृतहरु अहिलेसम्म खटाएको निकायमा हाजिर गर्न पुगेका छैनन् । मन्त्रालयका अनुसार सरुवा र कामकाजका लागि खटाएको २१ दिनभित्र खटाएको स्थानमा हाजिर गर्न पुग्नैपर्ने व्यवस्था छ ।
तर, भक्तपुरको सुर्यविनायक नगरपालिकाबाट सिंहदरवारभित्र रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका लुइँटेल ३८ दिन बितिसक्दा पनि पुगेका छैनन् ।
उता बाराबाट भक्तपुरको सुर्यबिनायक नगरपालिकामा सरुवा भएका आचार्य पनि अहिलेसम्म झक्तपुर नगरपालिकामा हाजिर भएका छैनन् । आफुले निजगढबाट रमना पत्र लिएर आए पनि सूर्यबिनायक नगरपालिकाले आफुलाई हाजिर गराइनसकेको आचार्य बताउँछन् ।
उता संघीय मामिलामा सरुवा भएका लुइँटेल भने अब केही दिनभित्रमा सरुवा भएको निकाय मन्त्रालयमा हाजिर हुुने बताउँछन् । उनी हाल सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतकै हैसियतमा कार्यरत छन् । करिव १८ महिना अघि सूर्यविनायकमा हाजिर भएका लुइँटेलले जनप्रतिनिधिले छाड्नै नमानेका कारण सरुवा भएको स्थानमा जान नपाइरहेको वडापालिकालाई बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारी भने आफैँले सरुवा गरेका र कामकाजका लागि खटाएका कर्मचारी कहाँ छन् भन्ने जानकारी समेत नराखी बसेको छ ।
संघीय मामिला मन्त्रालय कर्मचारी प्रशासन महाशाखा प्रमुख पिताम्बर घिमिरे ३८ दिन अघि मन्त्रालयले सरुवा गरेका कर्मचारी कार्यस्थलमा छन् कि छैनन् भन्ने विषयमासमेत अनविज्ञ छन् ।
‘सरुवा भएका कर्मचारीले विशेष कारण र अवस्थाबाहेकमा सरुवा भएका कुनै कर्मचारीले २१ दिनाभित्रमा रमाना लिइसक्नुपर्छ,’ घिमिरेले भने, ‘हाजिर नभएका र सरुवा भएका स्थानमा नजाने कर्मचारीका विषयमा के भएको रहेछ म बुझ्छु ।’