चितवनका ६ पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको मागः सार्वजनिक प्रशासनमाथिको आक्रमण रोक्नुपर्‍यो

काठमाडौँ । चितवन जिल्लाका ६ पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यस्थलमै भएको आक्रमणका दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतहरुले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाको विरोध गर्दै आक्रमण गर्ने दोषीमाथि कडाभन्दा कडा कारवाहीको माग गरेका हुन् ।

असार १८ गते बिहीबार चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि उनकै कार्यकक्षमा भौतिक आक्रमण भएको थियो । प्रमुख प्रशासकीय अधिकृतहरुले आफ्नो पदीय उत्तरदायित्व बहन गर्दै आम नागरिकको सार्वजनिक सेवा प्रवाहमा अहोरात्र खटिरहेका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि उनकै कार्यकक्षभित्र भएको भौतिक आक्रमणको घटनाप्रति घोर भर्त्सना एवं खेद प्रकट गरेका हुन् ।

‘विधिको शासन र राज्यको प्रशासनिक सार्वभौमिकताको उपहास गर्दै आपराधिक एवम् निहित स्वार्थप्रेरित समूहद्वारा सुनियोजित ढंगले गरिएको घटना केवल एक कर्मचारीमाथिको प्रहार नभई समग्र सार्वजनिक प्रशासन संयन्त्र र विधिको शासन माथिको चुनौती हो,’ प्रमुख प्रशासकीय अधिकृतहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

कानुनलाई हातमा लिई ज्यान मार्ने नियतका साथ घटाइएको भन्दै उनीहरुले यस्तो अराजक घटनाले कानुनी शासनको उपहास, राष्ट्रसेवक कर्मचारीहरू कार्यस्थलमै असुरक्षित रहने र भयभित वातावरणमा काम गर्नुपर्ने गम्भीर संकट समेत सिर्जना गरेको उल्लेख गरेका छन् ।

‘कार्यक्षेत्रमा निष्पक्ष र भयरहित रूपमा सेवा प्रवाह गर्ने वातावरणलाई धमिल्याउने तथा सार्वजनिक प्रशासनको मनोबल गिराउने यस्ता क्रियाकलाप क्षम्य हुन सक्दैनन् ।

तसर्थ, यस आपराधिक घटनामा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न दोषीलाई अविलम्ब पहिचान गरी कानुन बमोजिम हदैसम्मको कडा कारबाही गर्न र समग्र राष्ट्रसेवक कर्मचारीहरूको कार्यस्थलको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न हामी नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारती, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल, कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल र माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् ।

 

प्रकाशित मिति: शनिबार, असार २०, २०८३  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update