Odapalika - The Fourth Estate - चौथो अंग
विप्लवलाई गाउँपालिकाको अकबरे उपहार, स्थानीय भन्छन्ः किसानलाई मल छैन, पार्टीलाई बेर्ना !

काठमाडौँ । पाल्पाको रिब्दीकोट गाउँपालिकाले नेत्रविक्रम चन्द  ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई अकबरे खुर्सानीको  बेर्ना उपहार दिएको छ । 

अकबरे खुर्सानीले चिरपरिचित रिब्दीकोट गाउँपालिकाले  नेपाल कम्युनिस्ट पार्टी (विप्लव) नेतृत्वले संचालन गरेको  ‘जनकम्यून अभियान’ का लागि खुर्सानीको विरुवा सहयोग गरेको जनाएको छ । 

‘अकबरे खुर्सानीको बेर्ना सहयोगको माग भए बमोजिम २६ बैशाखका दिन रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की र प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले कम्युनमा पुगेर १० हजारबटा अकबरे खुर्सानीको विरुवा उपलव्ध गराएको गाउँपालिकाले जनाएको छ । 

पाल्पाको रिब्दीकोट गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले सामुहिक खेती गर्दै आएको छ । यो अभियानमा सहयोग गर्न पालिकाले १० हजार वटा खुर्सानीको विरुवा उपलव्ध गराएको गाउँपालिका अध्यक्षको भनाइ छ । 

उता गाउँपालिकाले आफ्नो फेसबुक पेजमा अकबरे खोर्सानी सहयोग गरेको तस्वीर राखेपछि स्थानीयले असन्तुष्टिसँगै व्यङ्ग्यसमेत गरेका छन् । 

biplaw-1746941581.jpg
‘होइन पालिका अध्यक्ष र अधिकृत ज्यु लाइ नि भाइरल हुन रहर लागे जस्तो लाग्यो नि पारा देख्दा त, ज्याद्रै राम्रो अभ्यास को सुरुवात भाको छ हजुर हरु देखि । किसान लाइ एउटा मल्चिङ प्लास्टिक सहयोग गर्न नसक्ने ले पाटि लाइ बेर्ना सहयोग । कोहि नभाको जात्रा हाडि गाउमा,’ मदन नेपालले लेखेका छन् । 

जवाफमा गीता खनाल लेख्छिन्, ‘किसान सिता के सम्बन्ध सम्बन्ध त पार्टी को पो हो त’ अर्का सुमन पोखरेलले किसानलाई सहयोग गर्न छाडेर पार्टीलाइ सहयोग गरेको देख्दा खुसी हुनु कि दुःखी भनेर लेखेका छन् । केही प्रतिकृयादाताले भने राम्रो काम गरेको भन्दै प्रसंसा पनि गरेका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update