
काठमाडौँ । पाँचथरको याङ्वरक गाउँपालिकाले युवायुवतीलाई केलाङ (च्याब्रुङ) नृत्य प्रशिक्षण दिएको छ । गाउँपालिकाको वार्षिक कार्यक्रमबमोजिम ६ वटा वडाका २३ जना युवालाई ५ दिने प्रशिक्षण दिएको जनाएको छ ।
याक्थुङ (लिम्बू) जातिको मौलिक नृत्य च्याब्रुङबारे नयाँ पुस्ता प्रशिक्षित नहुँदा समाजमा च्याबु्रङको संख्या कम हुँदै गएकाले यसको संरक्षणका लागि तालिम दिइएको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्याले बताए । उनका अनुसार प्रशिक्षण पाएकाहरूले आफ्नो गाउँटोलमा अरुलाई पनि सिकाउने छन् ।
किराँत याक्थुङ चुम्लुङका सचिव एवं कलाकार यासेली योङहाङसहित पूर्णबहादुर सेलिङ र उदय बेघाले प्रशिक्षण दिएका थिए ।
पालिकाभित्रका सबै जातजातिका धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले बर्सेनि फरकफरक जाति विशेषका लागि यस प्रकारका तालिम हुँदै आएको गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोको भनाइ छ ।
समापन कार्यक्रममा यहाँका लिम्बू समुदायको कला संस्कृतिको जगेर्ना र सम्वद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका बमबहादुर माबो र काजीमान माबोलाई सम्मान गरिएको थियो ।