Odapalika - The Fourth Estate - चौथो अंग
ओपी बजेट सुझावः कर्मचारीको तलब र आयकरको सीमा बढाऊ

काठमाडौँ । सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई अन्तिम रुप दिने गृहकार्यमा छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका विषयमा राष्ट्रपति सहितका सरोकारवालासँग छलफल गरिसकेका छन् ।

सरकारले ल्याउने बजेटका विभिन्न विषयमध्ये कर्मचारीको तलब र आयकरको सीमाका बारेमा यहाँ विवेचना गरिनेछ । सरकारले कर्मचारीको तबल र आयकरको सीमा दुबै बढाउनु पर्छ । 

किन बढाउनु पर्छ भने अहिले सरकारी कर्मचारीमा सबैभन्दा कम तलब खाने मुखियाको तलब २८ हजार रुपैयाँ छ । र, सबैभन्दा बढी तलब खाने मुख्य सचिवको मासिक तलब ७८ हजार रुपैयाँ छ । 

एउटा कर्मचारीले नेपालमा बसेर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको न्यूनतम गुणस्तरीय खाना खाने र बहुआयामिक गरिबी मापनका सुचक अनुसार जीवनयापन गर्ने हो भने नेपालको अहिलेको महंगी दर अनुसार मासिक ७० हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपर्छ । यो भनेको सरकारले अहिले तोकेको मुख्य सचिवको तलब बराबर हुन्छ । विश्व स्वास्थ्य संगठनले एक जना वयस्क व्यक्तिले दैनिक २२७९ क्यालोरी खाना खानुपर्छ भन्छ । 

क्र.स.

खाद्य पदार्थ

क्यालोरी

क्यालोरी प्रतिग्राम

परिमाण

१.

चामल

९३५

३.४०

२७५

२.

मकै

४२४

३.४२

१२४

३.

गहुँ

२४०

३.२१

७५

४.

कोदो फापर, जौ

१७४

३.२८

५३

५.

आलु

८०

१.००

८०

६.

दलहन

१४४

३.४४

४२

७.

तरकारी

३५

०.३०

११७

८.

माछामासु

४१

१.५४

२७

९.

तेल

१२१

१.००

१२१

१०.

दूध

६३

०.९२

६८

११.

फलफूल

१४

०.५५

२५

१२.

अन्डा

१.७३

 

जम्मा

२२७९

 

 

यो २२७९ क्यालोरी खाना खानको लागि दैनिक १५० रुपैयाँ जति खर्च लाग्छ । अर्थात एक परिवारमा ५ जनाको संख्या छ भने खानको लागि मात्रै देखिक ७५० रुपैयाँ खर्च हुन्छ । र, महिना दिनका यो खर्च २२ हजार ५ सय रुपैयाँ हुन्छ ।

खाना खाएर मात्रै हुदैन । अन्य विभिन्न शीर्षकमा मासिक धेरै रुपैयाँ खर्च भइरहेको हुन्छ । एउटा परिवारमा ५ जनाको संख्या छ भने उसले मासिक कम्तिमा पनि ५३ हजार ५ सय रुपैयाँ खर्च गर्नै पर्ने हुन्छ । कुन कुन शीर्षकमा कति खर्च हुन्छ भन्ने मोटामेटी हिसाव तलको टेबलबाट हेरौं ।

क्र.स.

विवरण

मासिक परिमाण

दर रु.

रकम

१.

खाना पकाउने इन्धन

१ सिलिन्डर ग्यास

२०००

२०००

२.

लुगा धुने साबुन

१० वटा

००

३.

नुहाउने साबुन

४ वटा

५०

२००

४.

चियापत्ती

-

-

१५०

५.

चिनी

५ केजी

८०

४००

६.

नुन, बेसार, मरमसला आदि

-

-

५००

७.

घरभाडा

 

 

०००

८.

कपडा

-

-

०००

९.

जुत्ता चप्पल

-

-

१५००

१०.

विद्युत्

५० युनिट

१४

७००

११.

शैक्षिक सामग्री

-

-

३०००

१२.

शैक्षिक शुल्क

२ बच्चाको

४०००

८०००

१३.

मनोरञ्जन खर्च

-

-

१०००

१४.

औषधि उपचार

-

-

५०००

१५.

सामाजिक संस्कार

-

-

२५००

१६.

अतिथि सत्कार

-

-

२५००

१७.

सञ्चार

-

-

२५००

१८.

यातायात

-

-

५०००

जम्मा

५३४५०

सरकारले अहिले कर्मचारीलाई जति तलब दिएको छ, यो खान लगाउनै नपुग्ने तलब हो । सरकारी कर्मचारीको तलबले निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब पनि तय गर्छ । यस्तै, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको ज्याला पनि तय गर्छ । आफ्ना नागरिकलाई स्वस्थ जीवनयापन गराउन पुग्ने र आधारभूत आवश्यकता पूरा हुने प्रकारको तलब या ज्याला सरकारले दिनै पर्छ । त्यसैकारण सरकारले निजामती कर्मचारीको तलब बढाउनै पर्छ । अहिले दिइएको तलब कम छ । अपुग छ ।

अर्काे, सरकारले आयकरको सीमा निकै तल राखेको छ । अर्थात हामीले आफूलाई चाहिने रकम आम्दानी नगरेपनि सरकारले तिमीले धेरै कमायौं, मलाई पनि देउ भन्दै करको नाममा जवरजस्ती लिन्छ । अहिले अविवाहित व्यक्तिले वार्षिक ५ लाख रुपैयाँ र विवाहित व्यक्तिले वार्षिक ६ लाख रुपैयाँसम्म आम्दानी गरेमा १ प्रतिशत मात्रै आयकर लाग्ने भन्ने व्यवस्था छ । योभन्दा बढी आम्दानी गरेमा बढी भएको २ लाखसम्ममा १० प्रतिशत, त्यसपछिको ३ लाखसम्म बढी भएमा त्यसमा २० प्रतिशत र त्यसपछिको ९ लाखसम्मको वार्षिक आम्दानीमा ३० प्रतिशत आयकर तिर्नुपर्छ । अर्थात विवाहित व्यक्तिले वार्षिक ६ लाखसम्म कमाउँदा १ प्रतिशत कर, ८ लाखसम्म कमाए २ लाखको १० प्रतिशत कर, ११ लाखसम्म कमाए २ लाखको १० प्रतिशत र बाँकी ३ लाखको २० प्रतिशत कर र २० लाखसम्म कमाए २ लाखको १० प्रतिशत, त्यसपछिको ३ लाखको २० प्रतिशत र बाँकी रहेको ९ लाखको ३० प्रतिशत आयकर तिर्नुपर्छ ।

एक पटक फेरि माथिको टेबल हेरौं । विश्व स्वास्थ्य संगठनले तोके अनुसार स्वस्थ रहनको लागि मासिक २२ हजार ५ सय खर्च गर्नुपर्छ । र, खानपिन बाहेकका अन्य शीर्षकमा मासिक ५४ हजार रुपैयाँ खर्च हुन्छ । यो भनेको मासिक ७६ हजार ५ सय रुपैयाँ हो । यसरी हेर्दा एउटा परिवारले वार्षिक ९ लाख रुपैयाँभन्दा बढी त अति आवश्यक कार्यमा खर्च गर्नुपर्छ । तर, सरकार भने वार्षिक ६ लाख रुपैयाँभन्दा बढीमा कर लिन कुरेर बसेको छ ।

कर्मचारीको तलब बढाउने कुरा सरकारी, अर्धसरकारी, शिक्षक, सेना, प्रहरी, संस्थान, समिति, निजी क्षेत्र र अनौपचारिक क्षेत्रका कर्मचारी तथा श्रमिकका लागि हो । आयकरको विषय सम्पूर्ण पेशा व्यवसायीदेखि आम सर्वसाधारणसम्मको विषय हो । आयकरको सीमा बढ्यो भने दुःख गरेर कमाएको पैसा सरकारलाई करको रुपमा दिनुको साटो आफ्नो बालबच्चालाई एक पाउ मासु वा एक किलो फलफूल किनेर खान दिन पाइन्छ । च्यातिएको जुत्ता फेरिदिन सकिन्छ । नयाँ गन्जी किनेर नाङ्गो आङ छोपिदिन सकिन्छ । जाडोले लुगलुग कामिरहेका बृद्ध बाबुआमालाई एउटा बर्काे किनेर ओढाइदिन सकिन्छ । यी विषय आम मान्छेको आधारभूत आवश्यकतासँग जोडिएका विषय हुन् । त्यसैले सरकारले आयकरको सीमा बढाएर वार्षिक कम्तिमा १० लाख रुपैयाँ पुर्याउनु पर्छ भने सबैभन्दा कम तलब खाने कर्मचारीको मासिक तलब कम्तिमा पनि ७० हजार रुपैयाँ पुर्याउनु पर्छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update