
काठमाडौँ । भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आज ५ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।
प्रतिनिधिसभामा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध पारेपछि उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । गृहमन्त्री लेखकले आफू विरुद्ध लागेका आरोपका विषयमा संसदमै जवाफ दिन खोजेपनि विपक्षी दलहरुले उनलाई बोल्न दिएका छैनन् ।
केही दिन अघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयका प्रमुख तिर्थ भट्टराईलाई पक्राउ गरेको थियो । उनले भिजिट भिषामा विदेश जाने नेपालीसँग अबैध रुपमा रकम लिने गरेको अख्तियारको आरोप छ ।
यसरी अबैध रकम असुल गर्ने कार्यमा गृहमन्त्री लेखक समेत संलग्न हुन सक्ने देखिएकोले उनीमाथि पनि अनुसन्धान हुनुपर्ने र त्यसको लागि राजीनामा दिनुपर्ने विपक्षी दलहरुको माग छ । यद्यपि, सत्तारुढ दलहरु नेकपा एमाले, नेपाली कांग्रेस लगायतले गृहमन्त्रीले राजीनामा दिनु नपर्ने बताइसकेका छन् ।
गृहमन्त्री लेखकले आज पत्रकार सम्मेलन गरेर आफूमाथि लागेका आरोपबारे बताउने उनको सचिवालयले जानकारी दियो । गृहमन्त्री लेखकले राजीनामा दिने नदिने विषयमा भने केही बताइएको छैन ।