Odapalika - The Fourth Estate - चौथो अंग
रमेश लेखकज्यू, न्याय चाहिएको भए गृहमन्त्री पदबाट राजीनामा गर्नुस्

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जेठ १४ गते संसद भवन परिसरमा पत्रकार सम्मेलन गर्दै आफूमाथि अन्याय भएको धेरै पटक सुनाए ।  उनले भिजिट भिषा प्रकरणमा आफू दोषी नरहेको र कर्मचारीमाथि अनुसन्धान सुरु हुदैमा मन्त्रीले राजीनामा गर्ने हो धेरै जनालाई मन्त्री बनाउनुपर्ने अवस्था सिर्जना हुने बताए ।

पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले अनौठा तर्क गरे । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा पक्राउ परेका तिर्थराज भट्टराई पहिलादेखि नै गृहमन्त्रालय अन्तरगत रहेकोले उनलाई अध्यागमन कार्यालयको प्रमुख बनाएर पठाएको दाबी गरे ।

गृहमन्त्री लेखकले त यतिसम्म भन्न सके कि– भट्टराईलाई लोकसेवा आयोगले पदस्थापन गरेकोले उनी गैरकानुनी कार्यमा संलग्न हुँदा लोकसेवालाई कारवाही गर्ने ? मन्त्री लेखकले आफ्नो स्पष्टिकरणमा भिजिट भिषा प्रकरणमा गैरकानुनी लेनदेनमा संलग्न रहेको आरोप लागेका भट्टराईको बायोडाटा बताउन पनि निकै समय खर्च गरे ।

गृहमन्त्री लेखकले आफ्नो प्रस्तुतीकरणमा र पत्रकारको प्रश्नको जवाफका क्रममा आफूमाथि अन्याय भएको धेरै पटक दोहोर्याए । गृहमन्त्री भनेको देशभरका प्रमुख जिल्ला अधिकारी, प्रहरी संगठन, अध्यागमन विभाग र कार्यालयहरु तथा राष्ट्रिय परिचयपत्र वितरण गर्ने निकायको नेतृत्व गर्ने मन्त्रालय हो । अर्थात नागरिकता वितरण गर्ने, शान्ति सुव्यवस्था कायम गर्ने, कानुन र न्याय पालना गराउने, आफ्नो देशका नागरिक चिन्न तथा विदेशी नागरिकलाई कानुन अनुसारको व्यवहार गर्ने जिम्मेवारी गृहमन्त्रालयको हुन्छ, जसको नेतृत्व गृहमन्त्रीले गर्छ ।

तर, गृहमन्त्री लेखकले आफूलाई भिजिट भिषा प्रकरणमा जबरजस्ती मुछेको र आफ्ना कुरा संसदमा राख्न नदिएर अन्यायमा पारिएको भन्दै विलौना गरे । उनको भनाईलाई आधार मान्दा गृहमन्त्री रमेश लेखकलाई अन्यायमा पारिएको छ । अन्यायमा पर्न उनी विवस भएका छन् । उनले न्याय पाउन सकेका छैनन्, उनी न्यायको खोजीमा छन् ।

गृहमन्त्रीले भनेका कुरा होइन भन्ने आँट कसैलाई हुँदैन । अर्थात उनी अन्यायमा पारिएका व्यक्ति हुन् । उनी अन्यायमा पर्न विवस छन् । उनी न्यायको याचना गरिरहेका छन् । तर, विर्सन नहुने कुरा के हो भने आफै अन्यायमा पर्न विवस, अन्याय सहन लाचार व्यक्ति न्याय दिने ठाउँमा बस्न मिल्दैन । उनी नागरिकलाई न्याय दिन सक्दैनन् । उनको नेतृत्वमा कानुन र व्यवस्थाको सही परिपालना सम्भव छैन । त्यसैले रमेश लेखकजीले राजीनामा गरेर मार्ग प्रसस्त गर्नु एक मात्र उपाय हो । उनी जस्तो निरिह व्यक्ति गृहमन्त्रीको जिम्मेवारीमा बसेर केही हुनेवाला छैन । बरु अर्काे सक्षम व्यक्ति गृहमन्त्री बनेर आयो भने उसले रमेश लेखकलाई पनि न्याय दिन सक्छ । त्यसैले रमेश लेखकले गृहमन्त्री पदबाट जतिसक्दो छिटो राजीनामा गरेर मार्ग प्रसस्त गर्न आवश्यक छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update