
काठमाडौँ । स्थानीय सरकारहरुले पनि केन्द्रको सिको गर्दै पछिल्ला दिन प्रमुख र उपप्रमुखका नाममा बग्रेल्ती कार्यक्रम संचालन गर्छन् ।
संघीय नीति र कानुनले निश्चित क्षेत्र, वर्ग र लिंकका व्यक्तिलाई मात्र सामाजिक सुरक्षा भत्ताको कल्पना गर्छ । तर यसविपरित एकल पुरुषसमेतलाई भत्ता दिन भ्याइरहेका छन् स्थानीय तह ।
आफ्नै खर्चमा गरिने सामाजिक भेटघाटका कार्यक्रममा पछिल्ला दिन सरकारी रकममा मदिराका बोतल वितरणसमेत पर्न थालेको देखिएको छ ।
स्थानीय तहले संचालन गर्ने सुत्केरी भेटघाट, उपाध्यक्ष, उपमेयर स्वास्थ्य कार्यक्रम जस्ता कार्यक्रममा कुखुराको भाले, अण्डा, घ्यू जस्ता पदार्थ वितरण गरिन्छन् ।
तर खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भने सुत्केरी र ज्येष्ठ नागरिक भेटघाटका नाममा मदिरासमेत वितरण गरेको देखिएको छ ।
गाउँपालिकाले आफ्नो फेसबुक पोष्टमा राखेको तलको तस्वीर हेर्नुस् त ! यो तस्वीमरा देखिएका तीनवटा बोत्तल मदिराका फरक फरक ब्राण्ड हुन् ।
चामल, तरकारी, भाले, अण्डा, फर्सीजस्ता सामग्री हालेर गाउँभरका सुत्केरी एकैठाउँ राखेर बाँडेको गाउँपालिकाले रक्सीसमेत वितरण गरेको देखिन्छ ।
‘दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आव २०८१/०८२ को उपाध्यक्ष लक्षित कार्यक्रम अन्तर्गत ज्येष्ठ आमा सम्मान तथा सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत टेम्म्मामा यस आवमा सुत्केरी भएका ३० जना र ९० बर्षभन्दा माथिका ३ जना आमाहरूलाई सम्मान गरियो । याम्खामा २१ जना सुत्केरी आमा र २ जना जेष्ठ आमा सम्मान गरियो आज पनि यम्खामा निरन्तर रहेको छ ।’ गाउँपालिकाले आइतबार आफ्नो फेसबुक पेजमा १६ वटा फोटोसहित पोष्ट गरेको छ ।
यही पोष्टमा एउटा तस्वीर भने मदिरासमेत राखेर सुत्केरीलाई दिन ठिक्क पारिएको देखिन्छ ।