
काठमाडौं । नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार कार्यदललाई ६ विषयमा सुझाव पेश गर्ने जिम्मेवारी तोकिएको छ ।
नेपाल राष्ट्र बैंकको जेठ २१ गतेको संचालक समिति बैठकले पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका पूर्वअध्यक्ष समेत रहेका डा. रेवत बहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय सुझाव कार्यदल गठन गरेको थियो । कार्यदलमा सानिमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भुवन दाहाल सदस्य छन् भने राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुरु पौडेल सदस्यसचिव छन् ।
कार्यदलको समयावधि एक महिना तोकिएको छ । कार्यदललाई ६ वटा विषयमा सुझाव दिन भनिएको छ ।
राष्ट्र बैंकले कार्यदललाई बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा सुझाव पेश गर्न भनेको छ । दोस्रो विषयमा आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा सुझाव दिन भनिएको छ ।
ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा सुझाव पेश गर्ने जिम्मेवारी डा. कार्कीं संयोजकत्वको समितिलाई तोकिएको छ । यस्तै, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधानको सम्बन्धमा पनि सुझाव दिन भनिएको छ ।
राष्ट्र बैंकले सो कार्यदललाई नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा पनि सुझाव दिन भनेको छ ।