Odapalika - The Fourth Estate - चौथो अंग
मटिहानी नगरपालिकाको बजेट ४४ करोड, कर्मचारीलाई पर्यटन काज बिदादेखि संस्कृत पाठशालाको उन्नयनसम्म

काठमाडौँ । महोत्तरीको मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि ४४ करोड रुपैयाँ बढीको बजेट नगरसभामा प्रस्तुत गरेको छ ।

१५औँ नगर सभामा मेयर हरिप्रसाद मण्डलले ४४ करोड ५० लाख रुपैयाँको बजेट पेश गरे । उनले बजेटसँगै नीति तथा कायृक्रम पनि सभामा पेश गरेका छन् । 

मण्डलले राजस्व बाँडफाँटलर्फ १० करोड ५ लाख, संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान चालू ससर्त अनुदान पुँजीगत, विशेष अनुदान पुँजीगत, समपूरक अनुदान पुँजीगतमा २८ करोड १० लाख तथा प्रदेश सरकारको एक करोड २६ लाख रुपेयाा आयसहितको बजेट पेश गरेका हुन् । 

नगरपालिकाले आन्तरिक स्रोत तथा गत वर्षको मौज्दातबाट ५ करोड २० लाख रुपैयाँ प्रस्ताव गरेका छन् भने  यसवर्ष सांस्कृतिक सहर, समृद्ध नगर नारासहित कृषि, शिक्षा, स्वास्थ्य, सिँचाइ, पर्यटनलगायतका क्षेत्रलाई प्रमुखतामा राखेर बजेट ल्याएको उनको भनाइ छ । 

एक घर एक करेसाबारी कार्यक्रम अन्तर्गत बाँझो रहेको जमिनमा तरकारी खेतीलाई प्रोत्साहित गर्नुका साथै व्यावसायिक खेती र पशुपालनमा युवाको सहभागिता अभिवृद्धि गर्न सिपमूलक तालिम प्रदान गरिने कार्यक्रम बजेटमा छ । 

मटिहानीको चिनारीका रूपमा रहेको मखाना खेतीलाई प्रवर्धन गरी ब्रान्डिङ गरिने तथा कृषकको व्यावसायिक क्षमता विकासका लागि कृषक व्यवसाय पाठशाला सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई बढावा दिन मटिहानी नगरका पोखरीलाई सौन्दर्यीकरण गर्नुका साथै नेपालको सबैभन्दा पुरानो मटिहानी मठलाई विश्वसम्पदा सूचीमा सूचीकृतका लागि पहल गरिने योजना नगरपालिकाले अगाडि सारेको छ । 

देशमा आन्तरिक पर्यटन प्रवर्धनका लागि नगरपालिकाका कर्मचारीलाई आर्थिक सुविधासहित १० दिनको पर्यटन काज दिने व्यवस्थासमेत मिलाइने छ ।

स्थानीय मैथिली भाषाको विकास, संरक्षण तथा संबर्धनका लागि नगरपालिकाभित्रका सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्मको पाठ्यक्रममा एक सय पूर्णांकको पठनपाठनको व्यवस्थाका साथ साथै प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीलाई सूचना प्रविधि पढाइने उल्लेख छ । 

मटिहानी संस्कृत विद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठलाई संस्कृत विषयक अन्तर्राष्ट्रियस्तरको अध्ययन र अनुसन्धान केन्द्रका रूपमा विकास गर्नेसमेत नीति योजनामा अगाडि सारिएको छ ।

मटिहानी नगर क्षेत्रका गर्भवतीलाई सुरक्षित प्रसूति सेवा प्रदान गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनुका साथै बर्थिङ सेन्टरले रिफर गरेको खण्डमा जनकपुरसम्मका लागि निःशुल्क एम्बुलेन्स सेवा दिइने उल्लेख छ । मेयरसँग समुदाय स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेह जाँच निःशुल्क गरिने योजनामा उल्लेख छ । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update