Odapalika - The Fourth Estate - चौथो अंग
बोलचाल नै बन्दको अवस्थाबाट कसरी सौहार्द बन्यो काठमाडौँ महानगरका मेयर र जनप्रतिनिधिबीचको सम्बन्ध ?

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच लामो समय बोलचाल नै बन्द भयो । प्रमुख प्रकाशकीय अधिकृत सरोज गुरागाईं मेयर बालेनको निर्णय विरुद्ध बलप्रयोग गरेर कार्यालय प्रवेश गरे । 

यति मात्रै होइन, मेयर बालेनले वडाध्यक्षहरुको जिम्मेवारी नै हेरफेर गरिदिए । त्यसपछि वडाध्यक्षहरु र मेयर बालेनबीच पनि दूरी बढ्यो । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेश रोक्न हरदम प्रयास गरे तर सकेनन् । अनि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेलाई पदबाट निलम्बन गरिदिए ।

तर, अब यी सबै कुरा पुराना भएका छन् । मेयर बालेन र उपमेयर डंगोलबीच लामो समयपछि गम्भीर छलफल भएको छ । वडाध्यक्षहरुलाई पुरानै जिम्मेवारीमा फर्काइएको छ । निलम्बनमा परेका नगर प्रहरी प्रमुख पाण्डे अदालतको आदेशले पुनस्थापना भएका छन् । र, मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच सम्बन्ध सुधार हुँदैछ ।

यो कसरी सम्भव भयो त ? मेयर बालेन निकट स्रोत भन्छ– जेठ २८ गतेले घटनाले अवस्थालाई यतिसम्म सौहार्द बनायो ।

स्थानीय सरकार संचालनको लागि मेयरको भूमिका अपरिहार्य हुन्छ । मेयरविना महानगरको कामकारवाही अघि बढाउन समस्या सिर्जना भएपछि ३ जना वडाध्यक्षहरुले विवाद समाधानको पहल थालेका थिए ।

मेयर र उपमेयरबीच नै विवाद भएपछि वडा नं. १७ का वडाध्यक्ष नविन मानन्धर, वडा नं. १५ का वडाध्यक्ष्य ईश्वरमान डंगोल र वडा नं. ३२ का वडाध्यक्ष नवराज पराजुलीले मध्यस्थता गरे । मानन्धर नेपाली कांग्रेस, डंगोल एकीकृत समाजवादी र पराजुली नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । मेयर बालेन स्वतन्त्र उम्मेदवार हुन भने उपमेयर डंगोल पनि एमाले उम्मेदवार हुन् ।

यी ३ जना वडाध्यक्षको पहलका कारण जेठ २८ गते दिउसो २ बजेदेखि मेयर, उपमेयर र ३ जना वडाध्यक्षहरुबीच छलफल भयो । पहिला मेयर उपमेयर र वडाध्यक्षहरु २ घण्टा बसेर छलफल गरे । त्यसपछि मेयर र उपमेयर बेग्लै २ घण्टा बसेर छलफल गरे । सो छलफले नै विवाद समाधानको विन्दु तय गर्यो ।

सो छलफलकै आधारमा मेयर बालेन शाहले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरूलाई पुरानै जिम्मेवारी दिएका छन् । केही समयअघि बालेनले चार वडाध्यक्षको जिम्मेवारी खोसेर नयाँलाई वडाध्यक्षहरूलाई विभिन्न समितिको संयोजकको जिम्मेवारी दिएका थिए । मेयर शाहले वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरलाई सूचना प्रविधि समितिको संयोजकबाट हटाएर वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिलाई दिएका थिए । यस्तै, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीलाई सुशासन समितिको जिम्मेवारीबाट हटाएर वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीलाई दिए । वडा नम्बर ८ का अध्यक्ष आशामान संगतलाई सम्पदा तथा पर्यटन समितिका संयोजकबाट हटाएर वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारीलाई जिम्मेवारी दिइएको थियो । यस्तै, वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनलाई विधायन समितिको संयोजकबाट हटाएर वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको थियो ।

पछिल्लो समय मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीच पनि सम्बन्ध सुधार हुँदै गएको देखिन्छ । यद्यपि, उनीहरुबीच महानगरको कार्यालयमा औपचारिक रुपमा भेटघाट भने भएको छैन ।

‘मेयरले पठाउनु भएको काम प्रमुख प्रशासकीय अधिकृतले रोक्नु भएको छैन, प्रमुख प्रशासकीय अधिकृतले पठाउनु भएको काम मेयरले रोक्नु भएको छैन । यो भनेको सम्बन्ध राम्रो हुँदै गएको भन्ने हुन्छ । उहाँहरुबीच महानगरमै भौतिक रुपमा भेट भने भएको छैन,’ महानगर स्रोतले वडापालिकासँग भन्यो ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १९:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update