काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको अनुदानबाट सिम्रौनगढ नगरपालिका– ८ कचोर्वास्थित जनता माविमा बनाइएको भवन निर्माणका क्रममा भ्रष्टाचार गरेकाले मुद्दा दायर गरिएको हो ।
‘अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीले प्राविधिकले तयार गरेको मूल्यांकन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको देखिँदा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी ६ लाख ५८ हजार ४४० रुपैयाँ भ्रष्टाचार गरेकाले विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यो प्रकरणमा सो विद्यालयको भवन निर्माण समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरण देवी यादवले नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरी, भुक्तानीको लागि स्वीकृत भएको भन्दा बढी तथा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा बढी रकम भुक्तानी गरेको भन्दै उनीहरुविरुद्ध पनि मुद्दा दायर गरेको छ ।






                                        
                                        
                    
                    