
ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्रका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा गरिदिएको छ । महानगरपालिकाले बुधबार स्वास्थ्य बिमा बोर्डसँग स्वास्थ्य बिमाको प्रिमियम व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर प्रिमियमबापत १ करोड रुपैयाँ भुक्तानीसमेत गरिएको जनाएको छ ।
समझदारीपत्रमा महानगरप्रमुख चिरीबाबु महर्जन र बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार महानगरले नगर प्रहरी, महानगरका सरसफाइकर्मी सवारीचालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरक (टिएचपी)को स्वास्थ्य बिमाबापतको शतप्रतिशत प्रिमियम तिर्नेछ । महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बिमा कार्यक्रम २ वर्षअघि देखि सुरु गरेको थियो ।
महानगरप्रमुख चिरीबाबु महर्जनले महानगरवासीको स्वास्थ्य उपचारका लागि हरसम्भव प्रयास गरिएको बताउँदै पाटन अस्पतालसँग सहकार्य गरेर बिरामीको शय्यासम्म अक्सिजन व्यवस्थापन गरेको लास व्यवस्थापन गर्न ‘मर्चरी हाउस’को व्यवस्थापनका लागि सुविधा प्रदान गरेको र यो देशकै नमूना भएको बताए ।
महानगरप्रमुख महर्जनले स्वास्थ्य बिमाको उपचारका लागि स्वास्थ्य केन्द्रको व्यवस्थापन गरिएको र २१० जनाको क्षमता भएको ठाउँमा ३०० भन्दा बढीले दैनिक सेवा लिन आउने गरेको बताए ।
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले महानगरबाट राम्रो कामको थालनी भएको बताउनदै अन्य स्थानीय तहले पनि यसबाट सिक्नुपर्ने बताए ।पाटन अस्पतालका निर्देशक रवि शाक्यले ललितपुर महानगरको सहयोगमा देशकै आधुनिक शव व्यवस्थापन गृह व्यवस्थापन गरिएको र यसमा स्वास्थ्य बिमामा पनि महानगरले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे ।