Odapalika - The Fourth Estate - चौथो अंग
पूर्णखोप सुनिश्चित बन्यो गोदावरी नगरपालिका 

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । ‘स्थानीय स्वामित्व र सहभागिताः पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो ।

जिल्लाका ६ वटा स्थानीय तहहरूमध्ये गोदावरी पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा हुने अन्तिम स्थानीय तह हो । यसअघि महाँकाल गाउँपालिकाले २०८२ वैशाख ३१ गते, महालक्ष्मी नगरपालिकाले जेठ ११ गते, बागमती गाउँपालिकाले जेठ १३ गते, कोन्ज्योसोम गाउँपालिकाले जेठ ३१ गते र ललितपुर महानगरपालिका असार १८ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषित भएका छन् । 

पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले खोप सुनिश्चितताका लागि अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्वयंसेविकाहरूको प्रशंसा गरे । 

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले वडा तहदेखि नगरपालिकासम्म खोप सुनिश्चिता भएसँग यसलाई जारी राख्न सबै क्रियाशील हुनुपर्नेमा जोड दिए ।

गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो क्षेत्रमा रहेर कर्तव्यनिष्ठ भई काम गरेका कारण यो परिणाम हात लागेको भन्दै स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्न समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाइन् ।
 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update