Odapalika - The Fourth Estate - चौथो अंग
६० लाख हुनेले ३ करोडसम्मको घर किन्न बैंकबाट ऋण पाउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले घर नहुनेलाई बनाउन तथा किन्नको लागि बैंक तथा वित्तीय संस्थाबाट सजिलोसँग ऋण पाउने व्यवस्था मिलाउने भएको छ ।

आगामी आर्थिक वर्षको लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा पहिलो घर खरिद वा निर्माणको लागि बढीमा ३ करोड रुपैयाँसम्म कर्जा पाइने व्यवस्था मिलाउने भनिएकाे छ ।

यो ३ करोड रुपैयाँसम्मको कर्जामा पनि सो घर निर्माण वा खरिद मूल्यको ८० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाबाट कर्जा पाइने भएको छ । ३ करोड रुपैयाँको ८० प्रतिशत भनेको २ करोड ४० लाख रुपैयाँ हो । अर्थात आफूसँग ६० लाख रुपैयाँ हुनेले ३ करोड रुपैयाँसम्मको घर खरिद वा निर्माण गर्न सक्ने अवस्था मौद्रिक नीतिले बनाएको छ । यसअघि २ करोड रुपैयाँसम्मको कर्जामा यस्तो सुविधा थियो भने सो कर्जा सीमा अधिकतम ७० प्रतिशत मात्रै थियो ।

‘निजी आवासीय घर निर्माण/खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा रु.२ करोडबाट बढाई रु.३ करोड कायम गरिनेछ । पहिलो घर निर्माण/खरिद गर्दा यस्तो कर्जा प्रवाहको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था मिलाइनेछ,’ राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update