Odapalika - The Fourth Estate - चौथो अंग
जेठ र असारमा स्थीर रहेको व्याजदर साउनमा घट्यो, तपाईंको पालिकाको बैंकले कति दिन्छ ?

काठमाडौं । जेठ र असार महिनाको लागि व्याजदर स्थीर राखेका बैंकहरुले साउन महिनाको लागि भने व्याजदर घटाएका छन् ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिमा व्याजदर घट्ने प्रावधान राखेका कारण बैंकहरुले व्याजदर घटाएका हुन् ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनिसकेपछि गभर्नर बनेका चर्चित अर्थशास्त्री डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको लागि ल्याएको पहिलो मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतबाट घटाई ६ प्रतिशत र ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गर्ने नीतिगत व्यवस्था गरेका थिए । यो व्यवस्थाले निक्षेपको व्याजदर घटाउन सहयोगी भूमिका निर्वाह गरेको हो । यस्तै, नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको थियो । 

यही पृष्ठभूमिमा साउन महिनाको लागि तोकिएको व्याजदर घटेको छ । प्रायः सबै बैकले साउनको लागि व्याजदर घटाएका हुन् ।

प्रकाशित सुचना अनुसार कृषि विकास बैंकले ५.४५ प्रतिशत रहेको मुद्दति निक्षेपको व्याज घटाएर ५.४० प्रतिशत दिने भएको छ । एभरेष्ट बैंकले असारमा ६.५५ प्रतिशत ब्याज दिँदै आएकोमा अब मुद्दति निक्षेपमा साउनबाट ६.२५ प्रतिशत दिनेछ । 

नेपाल बैंकले ५.४५ प्रतिशत ब्याज दिने गरेको मुद्दति निक्षेपमा साउनमा ५.४० प्रतिशत मात्रै दिनेछ ।  लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेपको व्याजदर ५.७५ प्रतिशतबाट घटाएर ५.५० प्रतिशत बनाएको छ । माछापुच्छ्रे बैंकले ६ प्रतिशत नै कायम गरेको छ ।

एनआईसी एशिया बैंकले मुद्दति निक्षेपको व्याजदर ६.५५ प्रतिशतबाट घटाएर ६.२५ प्रतिशत बनाएको छ । प्रभु बैंकले ६.१० प्रतिशत रहेको मुद्दति निक्षेपको व्याजदरलाई ४.२५ प्रतिशत बनाएको छ ।

स्टान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर बढाएको छ । उसले मुद्दति निक्षेपको व्याजदर ६.२५ बाट बढाएर ६.२६ प्रतिशत बनाएको हो । राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ ।

नबिल बैंकले मुद्दति निक्षेपको व्याजदर ५.७५ प्रतिशतबाट घटाएर ५.५० प्रतिशत बनाएको छ ।  ग्लोबल आइएमई बैंकको व्याजदर स्थीर छ । सिद्धार्थ बैंकले पनि ब्याजदरमा परिवर्तन गरेको छैन । असारमा सो बैंकले ५.७५ ब्याजदर तोकेको थियो । प्राइम कमर्सियल बैंकले मुद्दति निक्षेपको व्याजदर ६.२५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरेको छ । कुमारी बैंकले ५.७१ प्रतिशत रहेको मुद्दति निक्षेपको ब्याजदर घटाएर ५.४१ प्रतिशत बनाएको छ ।

सानिमा बैंकले ६.३३ प्रतिशत रहेको मुद्दति निक्षेपको व्याजदर घटाएर ६.१८ प्रतिशत बनाएको छ । हिमालयन बैंकले ५.५ प्रतिशत रहेको मुद्दति निक्षेपको व्याजदर ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । हिमालयनले व्याजदर बढाएको हो ।

नेपाल एसबीआई बैंकले ५.५ प्रतिशत रहेको व्याजदर घटाएर ५.३५ प्रतिशत बनाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५.५० प्रतिशत रहेको मुद्दति निक्षेपको व्याजदर घटाएर ५.२५ प्रतिशत निर्धारण गरेको छ । एनएमबी बैंकले व्याजदर चलाएको छैन ।  सिटिजन्स बैंक इन्टरनेसनलले ५.६५ प्रतिशत रहेको ब्याजदर ५.५० प्रतिशत  निर्धारण गरेको छ । 

यो तथ्यांक हामीले बैंकहरुले प्रकाशित गरेको सुचनाबाट लिएका हौं । यो सुचनामा बैंकहरुले मुद्दति निक्षेपमा दिने व्याजदर फरक फरक छ । 

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई पालिका नै तोकेर कम्तिमा एउटा बैंक सबै पालिकामा पुग्न भनेको छ । एउटा मात्रै बैंक भएको पालिकाको लागि छनोट भएन । तर, एकभन्दा बढी बैंकको शाखा भएका पालिकाका निक्षेप राख्ने व्यक्ति तथा संस्थाहरुले बढी व्याज दिने बैंकमा निक्षेप राखेर लाभ लिन सक्नेछन् ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update