
काठमाडौँ । माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको टुंगो लागेको छ । २.९ मेगावाट क्षमताको यस आयोजनाका लागि एनएमबी बैंकले एकल लगानी गर्ने भएको छ ।
मन्दाकिनी हाइड्रोपावरले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माण गर्न लागेको माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनामा एनएमबी बैंकले ४६ करोड ३३ लाख २५ हजार रुपैयाँ लगानी गर्ने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र हाइड्रोपावरका कम्पनीका अध्यक्ष शरदकुमार दाहालले हस्ताक्षर गरेका छन् ।
माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनाको लागत करिब ६६ करोड १८ लाख ९४ रुपैयाँ रहेको अनुमान गरिएको छ ।
मन्दाकिनी हाइड्रोपावरद्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रवर्द्धित ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत् आयोजनाले २३ मंसिर २०७४ देखि व्यावसायिक उत्पादन गरिरहेको छ । उक्त आयोजनामा पनि एनएमबी बैंकको अगुवाइमा सहवित्तीयकरणअन्तर्गत ऋण लगानी भएको छ ।