
काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएपछि सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको विवरण अद्यावधिक गर्नुपर्छ ।
सरकारले जेष्ठ नागरिक, एकल महिला, लोपोन्मुख जाति, अपाङ्गता भएका व्यक्ति, बाल पोषण, आफ्नो हेरचाह गर्न नसक्नेको स्याहार, विपन्न नागरिक, असक्तता असहाय जस्ता भत्ता प्रदान गर्दै आएको छ । यसबाहेक स्थानीय सरकार र प्रदेश सरकारबाट पनि विभिन्न प्रकारका भत्ता प्रदान गर्ने गरिएको छ ।
तर, पछिल्लो समय गाउँमै विवरण भएपनि परिवारको शिक्षा, परिवार र आफ्नो स्वास्थ्य, सुविधा र आश्रय खोज्दै गाउँबाट शहरमा आएर बसोबास गर्ने संख्या बढेको छ । सरकारबाट भत्ता पाउने नागरिक गाउँमा देखिए पनि व्यवहारमा उनीहरु शहर बजारमै बस्ने गरेका छन् ।
सरकारले पछिल्लो समय सामाजिक सुरक्षा भत्ता लिन सजिलो पनि बनाइदिएको छ । भत्ता लिने लाभग्राहीको विवरण अध्यावधिक भएपछि उनीहरुको नाममा बैंक खाता खोलिने र सोही खातामा भत्ता जम्मा गरिदिने गरिएको छ । र, बैंक तथा वित्तीय संस्थाहरुले जुनसुकै शाखामा खाता भएपनि सोही बैंकको अर्काे शाखाबाट रकम निकाल्न मिल्ने व्यवस्था गरेका कारण गाउँका स्थानीय सरकारले गाउँकै बैंकको शाखामा जम्मा गरिदिएको रकम शहरमा बस्नेले नजिकैको शाखाबाट निकाल्न मिल्ने भएका कारण सहज पनि भएको छ ।
भत्ता लिन एक पटक सम्बन्धित व्यक्ति आफ्नो पालिकामा गएर विवरण अद्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था छ । यसको लागि सम्बन्धित व्यक्ति नै भौतिक रुपमा उपस्थित हुनुपर्छ । तर, पछिल्लो समय सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीहरु (विशेष गरेर जेष्ठ नागरिक र एकल महिला भत्ता) लिनेहरु विवरण अध्यावधिक गर्न पनि आफ्नो पालिका जान छोडेपछि स्थानीय तहहरुले शहरमै आएर विवरण अद्यावधिक गर्न लागेका छन् ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका यसैगरी लाभग्राही खोज्न शहर पस्ने भएको छ ।
गाउँपालिकाले सूचना जारी गर्दै पालिकामा दर्ता भई चितवन र काठमाडौँमा बसोबास गरिरहेका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि घुम्ती शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।
यस्तै अवस्था अन्य पालिकाहरुको पनि छ । पहाडी, उच्च पहाडी, हिमाली र तराई मधेशका स्थानीय तहहरु पनि आफ्नो पालिकाका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही खोज्न काठमाडौँ लगायतका शहरी क्षेत्रमा विशेष अभियान नै चलाएर सक्रिए भएका छन् ।