
काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले मधेश प्रदेशले अहिले भोगिरहेको समस्याका बारेमा विद्यार्थी र अभिभावकबीच छलफल, अन्तरक्रिया, वादविवाद अनुभव आदानप्रदान गर्न निर्देशन दिएको छ ।
उपमहानगरपालिकाले सार्वजनिक सुचना प्रकाशित गरी मधेश प्रदेशलाई प्रदेश सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको र संघ सरकारले मधेश प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा विद्यार्थी र अभिभावकलाई यस विषयमा सचेत र सजग रहने कार्यक्रम संचालन गर्न सबै प्रकारका विद्यालयहरुलाई भनेको हो ।
‘यस उपमहानगरपालिका अन्तरगत संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरुले सेभ वाटर, सेभ लाइफ नारासहित स्वच्छ पानीको स्रोतहरुको पहिचान, संरक्षण र सदुपयोग कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा आआफ्नोृ विद्यालय र गाउँ समाजमा यथासिघ्र वादविवाद, अन्तरक्रिया, छलफललगायतका नवप्रवर्तनात्मक कार्यक्रम संचालन गरी पानीको महत्वको बारेमा जनचेतना जगाउनु हुन सबन्धित सबैलाई यसै सुचना मार्फत जानकारी गराइन्छ,’ सुचनामा भनिएको छ ।