Odapalika - The Fourth Estate - चौथो अंग
गण्डक नहरमा अतिक्रमण हुँदा रौतहटका किसान समस्यामा

पर्सा । बाराको फेटाबजार नजिकै गण्डक नहर किनारमा अतिक्रमण हुँदा रौतहटका किसान मर्कामा परेका छन् । पर्सा, बारा र रौतहटका दक्षिणीभेगका किसान सिँचाइका लागि गण्डक नहरमा आश्रित छन् । 

मधेस प्रदेशमा खडेरी लागेर सङ्कटग्रस्त भएसँगै बाराका किसानले नहरको किनारा आफूखसी भत्काएर उत्तरतर्फ पानी लगेपछि समस्या देखिएको हो । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलले बाराको फेटाबजार नजिकै डेढ किलोमिटरको दुरीमा पछिल्लो एक महिनामा चार पटक गण्डक नहरको संरचना भत्काएर उत्तरतर्फ पानी लगेको भेटिएको बताए ।

‘गण्डक नहरको किनारा भत्काएर पानी लैजानेलाई कारबाहीका लागि बाराका स्थानीय प्रशासन तथा प्रहरीमा उजुरी दिँदै आइरहेका छौँ । नहरको किनाराको संरचना भत्काएर बिगार्नेको पहिचान अहिलेसम्म हुन सकेको छैन,’ उनले भने ।

कार्यालय प्रमुख पटेलले नहरको किनारा काटेसँगै रौतहटको बङ्कुलसम्म पानी पुग्नका लागि अवरोध हुँदै आइरहेको बताए ।

‘गण्डक नहरको पानी पर्सा, बारा र रौतहटसम्मका दक्षिणीभेगतर्फ सिँञ्चित हुने गर्छ, बाराको फेटाबजार नजिकै नहरको किनारा भत्काइदिएपछि भने रौतहटका किसानलाई समस्या भएको छ,’ उनले भने ।

कार्यालयका अनुसार आइतबारदेखि मङ्गलबारसम्म पर्सा जिल्लामा पानी वितरण गरिन्छ भने बुधबारदेखि शनिबारसम्म बारा र रौतहटका किसानलाई पानी वितरण गरिँदै आइएको छ । बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वसन्त अधिकारीले बाराको बसन्तपुरमा गण्डक नहरको किनारा भत्काउनेको खोजी भइरहेको जानकारी दिए ।

प्रजिअ अधिकारीले गण्डक नहरका कर्मचारी र प्रहरीसँग समन्वय भइरहेको बताए ।

‘बारा र रौतहटमा पानीको पालो लगाउने समयमा नहरको किनारा काट्ने समस्या देखिएको छ । गण्डक नहरसँगै साइफन पनि रहेको छ । साइफनतर्फबाट दक्षिणतर्फ पानी बगाएर भारततर्फ पनि पानी लैजाने गरेको देखिएको छ । सो कार्य नियन्त्रणका लागि आवश्यक पहलकदमी भइरहेको छ,’ उनले भने ।

गण्डक नहरमा ७०० क्युसेक पानी
भारतले गण्डक सिँचाइ तथा जलविद्युत् योजनाको सम्झौता अनुसारको गण्डक नहरमा पानी उपलब्ध नगराउँदा सो नहरबाट सिँचाइ हुने पर्सा, बारा र रौतहटका किसान प्रभावित छन् । भारतीय पक्षले पछिल्लो समय भने नहर पर्याप्त मात्रामा सरसफाइ नभएको भन्दै पूर्ण क्षमतामा पानी नआएकाले पनि सो अनुसारको उपलब्ध गराउन नसकेको पत्राचार गरेको छ । 

दोन नहर प्रमण्डल रामनगरका कार्यपालक अभियान्ताका कार्यालयका विश्वास भाजनले यही अगष्ट ८ तारिखमा पठाएको पत्रमा गण्डकको मुख्य संरचना सरसफाइ नहुँदा क्षमताअनुसारको पानी उपलब्ध नभएकाले पनि कम पानी पठाइएको उल्लेख गरिएको छ । 

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख पटेलले पछिल्लो एक सातादेखि गण्डक नहरमा भारतीय पक्षले सात सय क्यूसेक पानी उपलब्ध गराउँदै आइरहेको जानकारी दिए ।

‘सम्झौताअनुसार ८५० क्यूसेक पानी उपलब्ध हुनुपर्ने भए पनि अहिले पछिल्लो एक सातादेखि गण्डक नहरमा  ७०० क्यूसेक पानी उपलब्ध हुँदै आइरहेको छ । नेपालको तर्फबाट चौतर्फी दबाब बढाएपछि मात्रै भारतीय पक्षले ७०० क्यूसेक पनि उपलब्ध गराउन थालेको हो,’ उनले भने ।

कार्यालय प्रमुख पटेलले गण्डक नहरबाट सिञ्चित हुने पर्सा र बाराका खेतमा पर्याप्त पानी पुगेपनि रौतहटमा भने पुग्न नसकेको बताए । नेपाल र भारतबीच सन् १९५६ डिसेम्बर ४ मा गण्डक सिँचाइ तथा जलविद्युत् योजना सम्झौता भएको थियो । सो सम्झौताअनुसार दुवै मुलुकमा सिँचाइ गर्र्ने उद्देश्यसहित भारत सरकारद्वारा नारायणी नदीमा ब्यारेज निर्माण गरी नारायणी सिँचाइ प्रणालीको विकास गरिएको थियो । 

सो सिँचाइ योजनाअन्तर्गत पर्सा, बारा र रौतहटको दक्षिणी भेगको ३७ हजार ४०० हेक्टरमा सिँचाइका लागि भारतीय पक्षले नेपालका लागि ८५० क्यूसेक क्षमताको पानी आउने गण्डक नहर निर्माण गरेर सन् १९७५ र १९७६ सालमा नेपाललाई हस्तान्तरण गरेको थियो । गण्डक नहर भारतीय भूमि हुँदै नेपाल–भारतको सीमाक्षेत्र जानकी टोलाहुँदै पर्सामा पानी भित्रिने गर्छ ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update