Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरपालिकाको दृष्टिमा कस्ता हुन्छन् मापदण्ड विपरितका पानीका जार ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक हप्ताको अवधिमा मापदण्ड विपरितका खानेपानीका २७१ जार नष्ट गरेको छ । 

असार र साउन महिनाकै तथ्यांक लिने हो भने यो संख्या ठूलो हुन्छ । यी दुई महिनामा गरी महागरले १३९ वटा गाडीहरूबाट ४५६ वटा जार बरामद गरी नष्ट गरेको छ ।

यसबाट पनि बुझ्न सकिन्छ कि बजार अनुगमनलाई महागरले तिब्रता दिएको छ ।

बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न महानगरले प्रशोधित पिउने पानीको अनुगमनलाई तीव्र बनाएको हो । बरामद गरिएका पानीको जार नष्ट गर्ने जिम्मेवारी महानगर प्रहरी बललाई दिइएको छ ।

महानगरका अनुसार पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक तथा जैविक परीक्षणका लागि नमुनाहरू प्रयोगशालामा पठाइएको छ । साउनयता महानगरले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु, कोटेश्वर लगायतका स्थानमा अनुगमन गरेको कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपाने बताउँछन् ।

कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको सहकार्यमा विभिन्न स्थानहरूमा चेकपोस्ट राखेर खानेपानी बोक्ने गाडीहरूको अनुगमन गरिएको छ । महानगरले जारमा खानेपानी बोक्ने गाडी सडकमै रोकेर जाँच गरिरहेको छ ।

‘हामीले बर्खायाममा पानीजन्य रोगहरूको जोखिमलाई मध्यनजर गर्दै प्रशोधित पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिएका छौँ । मापदण्ड विपरीतका जारहरूले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । त्यसैले हामीले यस्ता जारहरू तत्काल जफत गरी नष्ट गर्ने र कम्पनीहरूलाई कडा निर्देशन दिने काम गरिरहेका छौँ,’ न्यौपानेले भने ।

साउन १८ गते वडा नम्बर ३२, कोटेश्वर क्षेत्रमा अनुगमन गरियो । सो दिन १५ वटा सवारी साधनहरूको अनुगमन गरिएको थियो । यस क्रममा ७७ वटा मापदण्ड विपरीतका जारहरू बरामद गरिए, जुन नष्ट गर्न महानगर प्रहरीलाई हस्तान्तरण गरियो ।

साउन २० गते काठमाडौँ महानगरपालिका–१४, बल्खु क्षेत्रमा अनुगमन गरेको थियो । सो अनुगमनका क्रममा ८ वटा विभिन्न कम्पनीका पानी बोक्ने सवारी साधनहरूको जाँच गरिएको थियो । 

साउन २१ गते वडा नम्बर ७, चाबहिल–चुच्चेपाटी क्षेत्रमा अनुगमन गरियो । सो दिन १९ वटा सवारी साधनहरूको अनुगमन गर्दा ६७ वटा मापदण्ड विपरीतका जारहरू बरामद गरिए । 

महानगरले साउन २३ गते वडा नम्बर १६, माछापोखरी–बालाजु क्षेत्रमा अनुगमन गर्यो । सो दिन २० वटा सवारी साधनहरूको अनुगमनका क्रममा ६८ वटा जारहरू मापदण्ड विपरीतका भेटिए । ती जार पनि नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइयो । 

महानगरले मापदण्ड विपरीतका जारहरू बिक्री–वितरण नगर्न विक्रेतालाई सचेत गराएको छ ।

महानगरको फुड टेक्नोलोजिस्ट अशोक पराजुलीले प्रशोधित पिउने पानीको जारहरूको भौतिक र जैविक गुणस्तर जाँच्नु अत्यन्त महत्वपूर्ण भनेका छन् । उनले नागरिकको स्वास्थ्य महानगरको पहिलो प्राथमिकता हो भनेका छन् ।

महागरले मापदण्ड विपरितका खानेपानीका जार नियन्त्रणमा लिएपछि हामीले महानगरका फुड टेक्नोलोजिस्ट पराजुलीसँग सम्पर्क गरी मापदण्ड विपरितका जार भनेको कस्ता जार हुन भनेर सोधेका छौं । उनले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ ले तोकेको मापदण्डलाई आधार लिइएको बताए । सो निर्देशिका कृषि विकास मन्त्रालयले बनाएको हो ।

सो निर्देशिकाको बुँदा नं. ९ मा प्याकेजिङ सामग्री सम्बन्धी व्यवस्था छ । सो बुँदाको (ग) मा खानेपानीको जार कस्तो हुनुपर्ने भन्ने मापदण्ड छ ।

निर्देशिकको बुँदा नं. ९(ग) मा ‘कुच्चिएका, कोत्रिएका, फुटेका, फोहोर जमेका, लेउ लागेका तथा पुरानो भई पुरै अपारदर्शी भएका जारहरु प्रयोग गर्न पाइने छैन’ भन्ने लेखिएको छ । महानगरले अहिले सोही व्यवस्था अनुसार जारको मापदण्ड अनुमगन गरिरहेको हो ।

महागरले अनुगमनमा ५९ वटा जारहरू कुच्चिएको, फुटेको र अपारदर्शी अवस्थामा फेला पारेको छ, जुन मापदण्ड विपरीत थिए । यस्ता जारहरू पनि नष्ट गर्न महानगर प्रहरीलाई हस्तान्तरण  गरिएको छ । साथै, ३ वटा २० लिटरका जारहरू भौतिक तथा जैविक परीक्षणका लागि प्रयोगशालामा पठाइएको महानगरले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update