Odapalika - The Fourth Estate - चौथो अंग
भारतअघि चीन जादै प्रधानमन्त्री ओली, यस्तो छ कारण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् ।

उनी चीनको सांघाईमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जान लागेका हुन् ।

यसअघि सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने भनिएको थियो । राष्ट्रपति सहभागी नहुने भएपछि प्रधानमन्त्री ओली सो कार्यक्रममा सहभागी हुन लागेका प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

सम्मेलन भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा बेइजिङमा आयोजना हुँदैछ ।

सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुख पनि सो सम्मेलनमा सहभागी हुँदैछन् ।

सम्मेलनमा सहभागिताको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको स्रोतको भनाइ छ ।

सांघाई सहयोग संगठन (एससीओ) क्षेत्रीय स्थीरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००१ मा यसको स्थापना भएको थियो । यस संगठनमा १० देशहरु सदस्य छन् ।

यस संगठनमा चीनसहित काजकस्तान, किर्गिस्तान, ताजकिस्तान, इज्वेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस सदस्य छन् ।

नेपाल सन् २०१६ देखि यो संगठनको सम्वाद साझेदार बनेको थियो । सम्मेलनमा नेपालबाट उच्चस्तरीय सहभागिता हुन लागेको यो पहिलोपटक हो ।

सो सम्मेलनबाट फर्केपछि प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तय भएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update