
काठमार्डौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा बसेर काम गरिरहेका कर्मचारीहरुलाई सुगममा ल्याउने गरी आफूले गृहकार्य गरिरहेको बताएकी छिन् ।
आफूले मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनले यस्तो जानकारी दिएकी हुन् ।
उनले लामो समयदेखि सुगममा बसेर पनि दुर्गममा जान नमान्ने कर्मचारीहरुको नाम संकलन भइरहेको बताइन् । उनले यस्ता कर्मचारीको नामै सार्वजनिक गर्ने पनि जानकारी दिइन् ।
‘कोही सधैँ दुर्गममा मात्रै बसिरहने र सुगममा मात्रै कोही बसिरहने, कोही धेरै वर्षदेखि भ्याली नछोड्ने, कोही धेरै वर्षदेखि दुर्गममा बसिरहने स्थिति पनि छ । प्रमुख प्रशासकीय अधिकृत धेरै ठाउँमा निमित्तले चलाइरहनुभएको अवस्था पनि छ । मेरो सबैभन्दा बढी चासो त्यहीँ हो,’ उनले भनिन् ।
प्रमुख प्रशासकीय अधिकृतको काम धेरै स्थानमा निमित्तले गरिरहेका भन्दै उनले अब भदौ महिनाभित्रमा सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेगरी व्यवस्था मिलाइएको बताइन् ।
‘निमित्तले प्रमुख प्रशासकीय अधिकृत भएर काम चलाएको छ । यसलाई जिरोमा झार्नुपर्छ भनेर गृहकार्य शुरु गरेका छौँ । नमानेपछि हामीले आर्थिक अधिकार कटौती गर्नेसम्मका कामहरू गर्यौँ । स्ट्रिकली लागू गर्न हामीले काम शुरु गरेका छौं । राष्ट्रसेवक कर्मचारीहरू कुनै काम नै नगरी सेवामा समर्पित नभइकन तलव लिने खालको स्थिति बन्नुहुँदैन । त्यसका निम्ति कर्मचारी सबै खट्नुपर्छ । सबै सेवामा समर्पित हुनुपर्छ । त्यो संख्याको विवरण संकलन गर्दैछौं,’ उनले भनिन् ।