Odapalika - The Fourth Estate - चौथो अंग

वीरगन्ज महानगरपालिकामा झाडापखालाको लक्षण देखिएका २ बिरामीको मृत्यु भएको छ । वीरगन्जको नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले भदौ ७ गते शनिबार उपचारका क्रममा ती विरामीको मृत्यू भएको जानकारी दिएका हुन् । बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको हो ।

यस्तै, भदौ ६ गते शुक्रबार वीरगन्ज हेल्थकेयरमा उपचाररत अर्का एक बिरामीको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालयले झाडापखालाका कारण मृत्यु भए पनि हैजा थियो वा थिएन भन्नेबारे जाँच भइसकेको थिएन ।

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले हैजा र झाडापखालाका बिरामीलाई सबै अस्पतालमा डेडिकेटेड बेड छुट्ट्याएर उपचार गर्न निर्देशन दिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा शनिबार बसेको बैठकबाट हैजाको संक्रमण बढेको अवस्थामा पर्याप्त रूपमा ‘डेडिकेटेड बेड’ छुट्ट्याई उपचार र जनशक्ति व्यवस्थापन गर्न सबै अस्पताललाई निर्देशन दिइएको हो ।

यस्तै, वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ ।   ती कार्यका लागि घुम्ति सवारीसाधन सहितको टोली परिचालन गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ । विभागका महानिर्देशक रामकुमार श्रेष्ठले हैजा रोगको सङ्क्रमण पुष्टि भएका क्षेत्रमा खानेपानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक सामग्रीसहितको टोली खटिएको र आवश्यक थप सामग्री आज पठाउन लागिएको जानकारी दिए ।

..............................

सरकारी कर्मचारीप्रति सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको कटु बचन सम्बन्धी प्रसंग

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरूप्रति कटु बचन बोलेकी छिन् । उनले सरकारी कर्मचारीले कामभन्दा बढी लोक सेवामा ध्यान दिने गरेको बताएकी हुन् ।

शुक्रबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै कर्मचारीहरूमा काम गर्ने मनोवृत्ति नदेखिएको मन्त्री न्यौपानेले आरोप लगाइन् ।

मन्त्री न्यौपानेका अनुसार अहिले पनि सरकारी कर्मचारीहरू काम गर्दैनन् । उनीहरू आफ्नो वृद्धिविकासका लागि हाजिर लगाएर लोक सेवाको तयारी स्वरूप पढाइमा रटान लगाइरहेका हुन्छन् । यसैकारण सरकारले चाहेअनुसारको नतिजा दिन नसकेको उनको भनाइ छ ।

.......................................

खोटाङको साकेला गाउँपालिकामा जनश्रमदान अभियान संचालन सम्बन्धी प्रसंग

खोटाङको साकेला गाउँपालिकामा जनश्रमदान अभियान संचालन गरिएको छ । अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको बोटबिरुवा हटाउने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने तथा सडक आसपास विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्नेलगायत काम थालिएको हो । 

गाउँपालिका अध्यक्ष रविप्रकाश राईसहित श्रमदान अभियानमा स्थानीय नागरिक पनि प्रत्यक्ष जोडिएर सफा र सुन्दर पालिका निर्माण अभियानमा जुटेका छन् । गाउँपालिकामा उपलब्ध उपकरण र केही प्राविधिक तथा कर्मचारीको साथमा दिनहुँ जनश्रमदान गरिरहेका छन् । 

गाउँपालिका अध्यक्ष राईले  स्थानीय नागरिकलाई आवतजावतमा सास्ती नहोस् भन्ने हेतुले केही कर्मचारीको साथमा कहिले मुख्य त, कहिले शाखा सडक मर्मत गरिरहेको जानकारी दिए । अभियानमा उपाध्यक्ष बिर्सिका राई र वडाध्यक्षको सहभागिता छ ।

.........................................

अब सामान्य प्रशासन मन्त्रालय संघीय व्यवस्था सुदृढ गर्ने मन्त्रालय बन्ने

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले मन्त्रालयलाई संघीय व्यवस्था सुदृढ गर्ने मन्त्रालयको रुपमा पहिचान दिलाउने बताएकी छिन् । नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीले तनहूको दुलेगौडामा आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

मन्त्री न्यौपानेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नीतिगत रूपमा चल्ने मन्त्रालय बनाउने प्रमुख जिम्मेवारी रहेको बताइन् । मन्त्रालयको काम कर्मचारी सरुवा बढुवामात्र हो कि भन्ने रहेकामा त्यसलाई चिर्दै सङ्घीय व्यवस्थालाई सुदृढ बनाउने काम पनि मन्त्रालयको रहेको उनको भनाइ छ ।

मन्त्री न्यौपानेले कर्मचारी र सेवाग्राहीको गुनासो सुनुवाइका लागि मन्त्रालयमा गुनासो सुनुवाइ केन्द्र स्थापना गरिएको बताउँदै त्यहाँबाट गुनासो सुनुवाइ हुन थालेको जानकारी दिइन् ।

................................

अब मकवानपुरका स्थानीय तहहरुले बजेट खर्च गर्न नसकेको सम्बन्धी प्रसंग

मकवानपुरका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१/८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको ३२ करोड २२ लाख फिर्ता गरेका छन् । 

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिललाका १० वटै स्थानीय तहहरूले आर्थिक वर्ष २०८१/८२ मा खर्च गर्न नसकेको सो रकम फिर्ता गरिएको हो । गत आर्थिक वर्षमा मकवानपुरका स्थानीय तहहरुमा सशर्त अनुदानतर्फ २ अर्ब ९४ करोड, वित्तीय समानीकरण अनुदानतर्फ १ अर्ब १२ करोड ३४ लाख, समपूरक अनुदानतर्फ ५ करोड ५७ लाख र विशेष अनुदानतर्फ ३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएकोमा खर्च गर्न नसकेर ३२ करोड २२ लाख फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हेटौडाका प्रमुख दिनेश रेग्मीले जानकारी दिए ।

.................................................

अब आबुखैरेनी गाउँपालिकाका अमृत चेपाङले छात्रवृत्तिमा कक्षा १२ पास गरेको सम्बन्धी प्रसंग

तनहुँको आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ) छात्रवृत्तिमा कक्षा १२ उत्तीर्ण भएका छन् । उनीलाई आबुखैरेनी गाउँपालिकाले शैक्षिकसत्र २०८१ मा आँबुखैरेनीस्थित रामशाह माध्यमिक विद्यालयमा सो तह अध्ययन गर्न आर्थिक सहयोग गरेको थियो ।  छात्र चेपाङले केही दिनअघि सार्वजनिक भएको सो तहको परीक्षामा उत्तीर्ण भएका हुन् । 

गाउँपालिकाले खाना, बस्नका लागि मासिक पाँच हजार रुपैयाँका दरले वार्षिक ६० हजार रुपैयाँ सहयोग गर्दै आएको शिक्षा शाखा प्रमुख निर्मला कुवँरले जानकारी दिइन् । गाउँपालिकामातहत रहेका २४ सामुदायिक विद्यालयमध्ये २२ मा पूरै तहमा निःशुल्क शिक्षाको व्यवस्था गरेको उनको भनाइ छ ।

विद्यार्थी चेपाङको शिक्षा क्षेत्रमा देखिएको यस किसिमको उपलब्धिले सम्पूर्ण चेपाङ समुदाय र पालिकाका लागि समेत गौरवको विषय बनेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । 

चेपाङ, भुजेललगायत  सीमान्तकृत समुदायमा शिक्षाको पहुँच विस्तार गर्ने रणनीति, छात्रवृत्ति प्रणालीलाई अझ प्रभावकारी बनाउने उपाय र समग्र विकास प्रक्रियामा सीमान्तकृत समुदायको समावेशिता सुनिश्चित गर्ने योजनाका बारेमा विमर्श गरी अघि बढ्ने योजना बनाइएको अध्यक्ष चुमानले बताए ।

.............................

उदयपरको त्रियुगा नगरपालिका क्षेत्रमा फैलिएका भाइरल ज्वरो सम्बन्धी प्रसंग

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रसहित अन्य क्षेत्रमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्ला अस्पतालका अनुसार साउन अन्तिम हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिकासहित जिल्लाको अन्य क्षेत्रमा पनि फैलन थालेपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

जिल्ला अस्पतालका प्रमुख वीरेन्द्र मण्डलका अनुसार निरन्तर पानी पर्न थालेपछि सामान्य जमिनको पानीमा प्रदूषण र पिउने पानीको प्रदूषणका कारण पनि भाइरलको प्रकोप बढ्न थालेको हो । जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेका अनुसार अहिले दैनिक ४ सय ५० देखि ५ सयको सङ्ख्यामा भाइरलका बिरामी उपचार गर्न अस्पताल आउने गरेका छन् । 

अस्पतालमा आकस्मिक, ओपिडीसहित अन्य कक्षमा गरेर दैनिक पाँच सयका हाराहारीमा बिरामी बढ्दै गएपछि उनीहरूलाई बेडमा राखेर उपचार गर्न पनि समस्या हुन थालेको अस्पताल प्रशासनले जनाएको छ ।

वर्षासँगै मौसम प्रदूषण भएपछि अहिले त्रियुगा नगरपालिका क्षेत्रका वडा नं १ जोगीदह, ३ मोतिगडा, २ खैजनपुर, ७ चुहाडे, ८ शाहीखोला, राजाबास, असारी, पोर्ताह, गाईघाट, लक्ष्मीपुरसहितका क्षेत्रमा भाइरलको प्रकोप फैलन थालेपछि विद्यालय जाने उमेरकालाई समेत प्रभाव पार्न थालेको त्रियुगा–१२ का वडाध्यक्ष नवीनकुमार राईले बताए ।

त्यसैगरी बेलका नगरपालिकाको भागलपुर, परनदह, आम्बासी, तपेस्वरीसहित चौदण्डीगढी नगरपालिकाका हँढिया, सुन्दरपुर, सिवाई बेलही देवधार क्षेत्रमा भाइरलको प्रकोप फैलन थालेको छ ।

..................................

अब विवाह गर्ने उमेर सम्बन्धी विषय अदालत प्रवेश गरेको सम्बन्धी प्रसंग

विवाहको उमेर १८ वर्ष र संविधानसँग बाझिने कानुन संशोधन गरी एकरूपता कायम गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त ज्ञवालीसहित ५ वकिलले दायर गरेको रिटमा नेपालको संविधान र विभिन्न कानुनबीच उमेरसम्बन्धी व्यवस्थामा देखिएको विरोधाभास अन्त्य गर्न माग गरिएको छ ।

रिटमा उठाएका प्रश्नको निरूपण सर्वाेच्चको संवैधानिक इजलासबाट गरिनुपर्ने माग गरिएको छ । संवैधानिक इजलासमा निवेदन दिइएको छ । रिट निवेदकले नेपालको कानुनमा उमेरसम्बन्धी भिन्नताले नागरिकको अधिकारमाथि असर पारेको भन्दै एकरूपताको माग गरेका छन् ।

नेपालको संविधानमा १८ वर्ष उमेर पुगेका प्रत्येक नेपाली नागरिकलाई मतदानको अधिकार दिइएको छ । यसबाट १८ वर्षमै नागरिकलाई बालिग मानिएको रिट निवेदकको दाबी छ ।

तर, मुलुकी देवानी संहिता, २०७४ मा विवाहका निम्ति न्यूनतम उमेर २० वर्ष तोकिएको छ । २० वर्षभन्दा कम उमेरलाई बालबालिका मान्दै विवाह स्वतः बदर हुने व्यवस्था सोही संहितामा छ । १८ वर्षमा नै बालिग हुने यकिन गरिएको विषयमा त्यति उमेरलाई बालबालिका भनी दण्डसजायको व्यवस्था गर्दा संविधानलाई कानुनले ‘ओभरल’ गरेको रिटमा दाबी गरिएको छ ।

..............................

अब ललितपुर महानगरले बाढी सम्बन्धी अर्लि वानिङ प्रणाली जडान गरेको सम्बन्धी प्रसंग

ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्वजानकारी दिन अर्ली वार्निङ प्रणाली जडान गरेको छ । महानगरले हाल पालिकाभित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको हो । यो प्रणाली जडान गर्ने ललितपुर महानगर पहिलो स्थानीय तह हो ।

वडा नम्बर २८ हरिसिद्धीस्थित कर्मनाशा पुल र वडा नम्बर ४ नख्खु खोला नजिकै यो प्रणाली जडान गरिएको महानगर विपद् व्यवस्थापन शाखाले जनाएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्र पर्ने मुख्य दुई नदी नजिकै यो प्रणाली जडान गरिएको बताए । 

नदीमा पानीको बहाब बढेपछि घन्टी बज्छ, यो घन्टीले सचेत हुन र आवश्यक सावधानी अपनाउन मद्दत गर्छ । आवश्यक भए अन्यत्र पनि जडान गर्ने महानगर प्रमुख महर्जनले बताए । महानगर विपद् व्यवस्थापन शाखाका अनुसार झण्डै दुई किलोमिटरसम्म घण्टीको आवाज सुनिन्छ । बाढीको अवस्था बारे नगर प्रहरी र अन्य सरोकारवालालाई जानकारी दिन समेत संयन्त्र जडान गर्ने तयारी महानगरले गरेको छ । अर्ली वार्निङ सिस्टम जडान गर्नुको मुख्य उद्देश्य जनधनको क्षति हुन नदिनु भएको नगर प्रमुख महर्जनले बताए ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update