Odapalika - The Fourth Estate - चौथो अंग
गोरखाका किसानलाई सहयोग, दूध उत्पादन प्रोत्साहनका लागि नगद अनुदान

गोरखा । गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान उपलब्ध गराइने भएको छ । भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाले उत्पादनका आधारमा किसानलाई प्रति लिटर ५ रुपैयाँ अनुदान उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अनन्त कोइरालाले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि दूधमा अनुदान उपलब्ध गराउन रु १५ लाख बजेट विनियोजन गरेको छ ।

‘जिल्लालाई दूधमा आत्मानिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्दै जाने उद्देश्यसहित नगद अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । यसले किसानलाई थप सहयोग पुग्नेछ,’ उनले भने ।

कार्यक्रमले किसानलाई पशुपालनतर्फ आर्कषित गर्न मद्दत पुग्ने कोइलाको भनाइ छ ।

‘केन्द्रमा सहकारी संस्थालाई सूचीकृत गरेर सूचीकृत भएका सहकारी संस्थामार्फत उत्पादित दूध बिक्री गर्ने कार्यविधि छ । थोरै दूध उत्पादन गर्ने किसानले पनि सङ्गठित रुपमा काम गर्न सकोस् भन्ने उद्देश्यसहित सहकारीमार्फत काम गराउने व्यवस्था गरिएको हो,’ कोइरालाले भने ।

सहकारी संस्थामार्फत सङ्कलन र बिक्रीको व्यवस्था गर्दा साना किसानले पनि घरघरमा उत्पादित दूध बजारसम्म पुर्‍याउन सक्ने र अनुदान कार्यक्रमबाट लाभ लिनसक्ने उनले बताए । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँँपालिकामा दूध उत्पादन राम्रो हुने गरेको पाइन्छ । केन्द्रले पशुपक्षी तथा मत्स्य व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तर्गत दूध उत्पादनमा अनुदान कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रम अन्तर्गत यसवर्ष जिल्लामा तीन लाख लिटर दूधलाई अनुदान दिन सकिने केन्द्रले जनाएको छ । त्यस्तै सूचीकृत भएका सहकारी संस्थाले न्यूनतम दुई सय लिटर दूध सङ्कलन तथा बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ । केन्द्रले सहकारीमार्फत किसानलाई नगद अनुदान उपलब्ध गराउने कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update