
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पदबाट हटाउने उपमहानगरको निर्णयमा उच्च अदालत तुलसीपुरले कारण देखाउ आदेश जारी गरेको छ ।
वडाध्यक्ष शाहले आफूलाई अन्यायपूर्वक पदबाट हटाएको भन्दै उच्च अदालतमा दर्ता गरेको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।
अदालतले अग्राधिकार दिएर रिटको अर्को सुनुवाई भदौ १८ गते तोकेको छ । शाहले गत शुक्रबार अदालतमा रिट दर्ता गरेका थिए ।
मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलाशले उपमहानगरलाई कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई अर्को पेशीमा छलफलका लागि बोलाएको छ ।
वडाध्यक्षबाट हटाइएका शाहले आफूलाई एक पटक पनि सफाईको मौका नदिई राजीनामा दिएको दुई वर्षपछि राजीनामा स्वीकृत गरेको जनाउँदै कानूनी प्रक्रिया पूरा नगरी पदबाट हटाई कार्यवाहक अध्यक्ष तोक्ने काम भएकाले उक्त निर्णय बदर गरी पूर्ववत जिम्मेवारीमा फर्काउन माग गर्दै रिट दायर गरेका थिए ।
घोराही उपमहानगरका मेयर नरुलाल चौधरी र वडाध्यक्ष शाह दुवैजना नेकपा एमालेबाट निर्वाचित भएका हुन् । मेयर चौधरीसँग विवाद भएपछि वडाध्यक्ष शाहले पदबाट राजीनामा गरेका थिए ।