दाङ । दाङको घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो । उनको दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्छ ।
बधिया भाले बिक्रीबाट राम्रो आम्दानी पनि लिइरहेको उनी बताउँछिन् ।
स्थानीय कुखुराको भालेलाई अप्रेसन गरेर उसको अण्डकोष निकालेपछि भाले बधिया बन्छ । जानकारी आफै भालेलाई बधिया बनाउँछिन् ।
‘यो सीप सिकेपछि मैले आफैँ यो विधिको सुरुआत गरेर भाले बधिया बनाउने काम सुरु गर्न थालेँ,’ उनी भन्छिन् ।
बधिया भालेको मासु बढी स्वादिलो हुने भएकाले पनि यसको खोजी व्यापक बन्दै गएको उनको भनाइ छ ।
आठ वर्षदेखि व्यावसायिक रूपमा बधिया भोलेपालन गर्दै आएकी किसान चौधरीले आगामी दिनमा यसलाई बढाउँदै लैजाने योजना बनाएकी छन् । अहिले पनि फार्ममा ६० भन्दा बढी भाले रहेको उनको भनाइ छ । एउटा भालेलाई ३ हजार रुपैयाँ पर्छ । बधिया भाले सामान्यतया दुई, साढे दुई किलोको हुने गर्छ ।
जानकीले यो व्यवसायबाट वार्षिक रूपमा चारदेखि छ लाखको कारोबार गर्ने र घरखर्च चलाएर आधा रकम बचत गर्दै आएकी छन् । उनले साना भाले किनेर पाल्छिन् । यसका लागि लोकल कुखुरा पाल्ने स्थानीय किसानसँग सम्पर्क गर्ने गरिएको उनको भनाइ छ । यसरी किनेका भाले चार महिनापछि बधिया बनाउने गरिन्छ ।
खुला ठाउँ भएका गाउँघरमा थोरै जमिन भए पनि बधिया भाले पाल्न सहज हुने उनले बताइन् । सजिलो र कम लगानीमा गर्न सकिने भएकाले यो आकर्षक व्यवसाय बनेको छ । दङ्गाली पोल्टी फार्म दर्ता गरेर व्यवसाय गर्दै आएकी जानकीलाई श्रीमानको पनि सहयोग मिलेको छ ।
‘बधिया भालेको व्यावसायिक पालनबाट राम्रो आम्दानी पनि हुँदै आइरहेको छ, त्यसकारण विगत लामो सयमदेखि निरन्तरता दिँदै आइरहेका छौँ । सबै काम आफैँले जानेपछि पछिल्लो समय झन् सहज भएको छ, बिक्रीका लागि पनि कुनै समस्या छैन,’ उनले भनिन् ।
अन्य समयको तुलनामा चाडपर्वको समयमा बधिया भालेको माग झन् धेरै माग आउने गरेको उनको अनुभव छ ।
साना चल्ला हुर्काएर, बधिया बनाएर बेच्दा दोब्बर मूल्य पाउन सकिने चौधरीको भनाइ छ ।
यो व्यवसाय गरेदेखि आयआर्जनका लागि अन्य काम खोज्नुपरेको छैन ।” उहाँले उत्पादन गरेको बधियो भाले काठमाडौँ, पोखरालगायतका ठाउँसम्म पुग्ने गरेको छ ।
जानकी मात्र होइन जिल्लाका अधिकांश किसान बधिया भालेपालनमा सक्रिय छन् । बजारमा माग उच्च र पर्याप्त मूल्य पाउने भएका कारण पछिल्लो केही वर्षयता बधिया भाले दाङको प्रमुख पहिचान नै बन्दैछ ।







