
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १३ गतेको मन्त्रिपरिषद बैठकको निर्णय भन्दै सार्वजनिक गरेको निर्णय संचार तथा सुचना प्रविधि मन्त्रालयको विवरणमा परेको छैन ।
सरकारका प्रवक्ता समेत रहेका संचार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भदौ १३ गतेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय भन्दै सार्वजनिक गरेका २४ वटा निर्णयमा सहसचिवहरुको सरुवा सम्बन्धी विवरण समावेश नभएको हो ।
तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार (भदौ १५ गते) आफ्नो वेबसाइटमा भदौ १३ गतेको मन्त्रिपरिषद बैठकको निर्णय भन्दै ९ जना सहसचिवको सरुवा भएको जानकारी गराएको थियो ।
यस विषयमा दुविधा उत्पन्न भएपछि वडापालिकाले भदौ १५ गते साँझ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीलाई सम्पर्क गरी सहसचिव सरुवाको निर्णय भएको हो कि होइन भनेर सोधेको थियो ।
‘९ जना सहसचिवज्यूहरुको सरुवा भएको हो । मन्त्रिपरिषदको निर्णयमा किन समावेश भएन भन्ने कुरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई जानकारी होला,’ सहसचिव पराजुलीले वडापालिकासँग भने ।
सरकारका प्रवक्ता मन्त्री गुरुङले भदौ १६ गते साँझ नै भदौ १३ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय भन्दै २४ बुँदा सार्वजनिक गरेका थिए ।
सामान्य प्रशासन मन्त्रालयबाट यो विषयमा स्पष्ट जवाफ नआएपछि हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा यो विषयमा जानकारी लिने प्रयास गरेका थियौं । कार्यालयको वेबसाइटमा प्रवक्ताको नाम र सम्पर्क नम्बर छैन भने सहप्रवक्ता तथा सुचना अधिकारीको कार्यालयको सम्पर्क नम्बर मात्रै दिइएको छ । सो नम्बरमा सम्पर्क गर्न खोज्दा कार्यालय समय समाप्त भएकोले सम्पर्क हुन सकेन ।