
काठमाडौँ । नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको छ ।
सेनाले आज एक अनुरोध जारी गर्दै यस विषयम परिस्थितिमा देशको ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पतिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको जनाएको छ ।
‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जीउधनको रक्षा गर्न प्रतिबद्ध रहीआएको छ,’ सेनाले भनेको छ ।
सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जीउधनको सुरक्षाका लागि नेपाली सेना प्रतिबद्ध रही आएको उल्लेख गरेको छ ।
नेपालमा हाल भइरहेको जेन्जी आन्दोलनका विकसित घटनाक्रमबारे विश्लेषण गरिरहेको जनाउँदै सेनाले यस आन्दोलनका क्रममा हुन पुगेको जनधनको अपुरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना गरेको छ ।
साथै शोक सन्तप्त परिवारजनप्रति नेपाली सेनाले हार्दिक समवेदना र सहानुभूति व्यक्त गरेको छ । सेनाले घाइते बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।