Odapalika - The Fourth Estate - चौथो अंग
मिङ्मा डेविट शेर्पालाई पर्यटन मन्त्री बनाउन गृहकार्य

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा पर्यटन व्यवसायी मिङ्मा डेविट शेर्पालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउन गृहकार्य भएको छ ।

नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्षसमेत रहेका शेर्पालाई पर्यटन मन्त्री बनाउन जेनजी समुहको तर्फबाट सम्पर्क र छलफल समेत भएको स्रोतले बतायो ।

‘नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि काम गरेका, इमान्दार व्यवसायी र विश्वभर पहिचान बनाएकोले उहाँलाई पर्यटन मन्त्री बनाउन गृहकार्य भएको छ । जेनजी आन्दोलनको भावना अनुसार चल्न सक्ने व्यक्ति पनि भएकोले उहाँलाई मन्त्री बनाउन पहल गरिएको हो,’ स्रोतले वडापालिकासँग भन्यो ।

कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषदमा पर्यटन मन्त्री बन्न लाग्नुभएको हो भन्ने वडापालिकाको प्रश्नमा उनले स्पष्ट जवाफ नदिए पनि इन्कार भने गरेनन् । 

‘यो सरकारलाई ६ महिनाभित्रमा निर्वाचन गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्ने दायित्व छ । यो ६ महिनाको अवधिमा कुनै नीतिगत परिवर्तन गरेर दीर्घकालिन योजना निर्माण गर्न सकिदैन होला । तर, पर्यटनका लागि नेपाल सुरक्षित छ भनेर मैले विश्वभर भन्न सक्छु । नेपाल भ्रमणको लागि आत्मविश्वास बढाउन सक्छु जस्तो लाग्छ,’ शेर्पाले वडापालिकासँग भने । 

शेर्पाको कम्पनीले सगरमाथा आरोहण गर्न चाहनेहरुलाई सातै महादेशमा सगरमाथा आरोहणका लागि तालिम दिएर सगरमाथा आरोहणको लागि नेपाल ल्याउने गर्छ । 

को हुन् मिङ्मा डेविट ?

मिङ्मा डेविट शेर्पा नेपाल पर्वतारोहण संघको प्रथम उपाध्यक्ष हुन् । उनी टे्रकिङ कम्पनी इलाइट एक्सपिडको डाइरेक्टर हुन् । यो कम्पनीमा किर्तिमानी आरोही निर्मल पुर्जाको पनि सेयर लगानी छ ।

शेर्पा सन् २०१० देखि पर्यटन क्षेत्रमा सहभागी भएका हुन् । उनी पहिलो ताप्लेजुङका शेर्पा पहिलो पटक कन्चनजंगा हिमालय आरोहीको भरिया बनेर पर्यटन व्यवसायमा संलग्न भएका थिए । अहिलेसम्म उने ८ हजार मिटर उचाइका शिखरको ३५ पटक सफल आरोहण गरिसकेका छन् ।

शेर्पाले अहिलेसम्म ५ वटा विश्व रेकर्ड बनाएका छन् । ती रेकर्ड गिनिज बुकमा रेकर्ड पनि गरिएको छ । उनले छोटो समयमा नै सगरमाथा र केटु हिमालको सफल आरोहण गरेको, सबैभन्दा कान्छो उमेरमा नै ८ हजार मिटर माथिका १४ वटै हिमालको सफल आरोहण गरेको र जाडो याममा केटु हिमालयको आरोहण गरेको रेकर्ड राखेका छन् । यस्तै, सबैभन्दा बढी ५ पटक केटु हिमालयको आरोहण गरेर पनि उनले विश्व रेकर्ड राखेका छन् भने उनले छैटौं पटक केटु हिमालको आरोहण गरेर आफ्नै रेकर्ड पनि भंग गरेर अर्काे रेकर्ड राखेका छन् ।

पर्यटन व्यवसायी शेर्पा सामाजिक क्षेत्रमा सक्रिय व्यवसायी पनि हुन् । उनी १०० भन्दा बढी उद्धार कार्यमा संलग्न छन् । उनी सहभागी भएको उद्धार कार्यको ६ सेरिजमा प्राइम भिडियो नै निर्माण भएको छ । यस्तै, नेटल्फिक्समा सबैभन्दा बढी चलेको डकुमेन्ट्री फोटिन पिक्सको उनले नै सिनेमाग्राफी गरेका हुन् । यस्तै, सगरमाथामा सुटिङ गरिएको फाइन्डिङ माइकल नामक फिल्ममा उनी प्रमुख उद्धारकर्ताको भूमिकामा देखिन्छन् ।

द च्यालेन्जर नामक रियालिटी शोमा पनि शेर्पा देखिन्छन् । सो शोमा उनी सगरमाथा आरोहण सिकाउने एक्सपिडिसन लिडरको रुपमा सहभागी छन् । यो रियालिटी शो सगरमाथामा नै सुटिङ गरिएको हो ।

शेर्पाको कम्पनीले नेपालमा मात्रै वार्षिक ८ सय जनालाई प्रत्यक्ष रोजगारी दिने गरेको छ । शेर्पाको कम्पनी इलाइटले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) मा सगरमाथा क्षेत्रमा पोर्टर हाउस निर्माण गरेको छ । यो हाउस करिब साढे ६ करोड रुपैयाँको लागतमा निर्माण भएको हो । सो पोर्टर हाउसको क्षमता करिब १०० जनाको छ । यद्यपि, सो पोर्टर हाउस निर्माणको नेतृत्व भने निर्मल पुर्जाको नाममा स्थापना भएको निर्मल दाइ फाउन्डेसनले लिएको हो ।

सगरमाथा सरसफाइमा पनि शेर्पा संलग्न भएका छन् । शाहसिक पर्यटनको सबैभन्दा उपल्लो चरणको अनुभव गर्न चाहने पर्यकटकलाई नेपाल भित्र्याउन शेर्पाको सबैभन्दा ठूलो योगदान छ । 

उनी जुन ५ मा रोयल जोग्राफी सोसाइटीले कन्चनजंगा आरोहणको ५० वर्ष पुगेको उपलक्ष्यमा बेलायतमा आयोजना गरेको कार्यक्रमा सहभागी भए । सो कार्यक्रममा शेर्पा प्रमुख वक्ता थिए भने बेलायती राजकुमार दर्शकदिर्घामा थिए । मिङ्माले कन्चनजंगा हिमाल आरोहणमा भरियाको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए ।

उनी अहिले नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नु सबैभन्दा पहिलो प्राथमिकता रहेको बताउँछन् । 

‘असुरिक्षत स्थानमा घुम्नको लागि कोही पनि जादैन । नेपालमा सबै जलेको र आगो लागेको मात्रै सन्देश प्रवाह भएको छ । पर्यटन क्षेत्रले अहिले नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सक्नुपर्छ, त्यो पनि विश्वसनीय रुपमा,’ शेर्पा भन्छन् ।

२०७२ सालको भूकम्पको समयमा राहत र उद्धारमा खटिएका शेर्पा कोभिड महामारीको समयमा पनि राहत वितरणमा संलग्न थिए । 

नेपालको पर्यटन क्षेत्रमा सफल व्यवसायीको छवि बनाएका र विश्वभरका ‘क्वालिटी टुरिष्ट’सँग सम्पर्क र सहकार्य गरिरहेका शेर्पालाई मन्त्री बनाउँदा अहिलेको निरासा चिर्न सकिने र संसारभर सकारात्मक सन्देश प्रवाह हुने भएकोले उनलाई मन्त्री बनाउन गृहकार्य गरिएको स्रोतले बतायो ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update