
काठमाडौँ । तोडफोडबाट अस्थिपन्जर भइसकेको एउटा गाडीमा तत्कालिन परिस्थितिजन्य उत्तेजना आएर आगो झोस्न पुगेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनौती नगर समितिका पूर्वसभापति विवेक भट्टराई पछुताएका छन् ।
भदौ २४ गते देशभर भएको जेनजी प्रदर्शनका क्रममा आफू सार्वजनिक सम्पत्ति जोगाउन खटिएको भएपनि भिडको लहैलहैमा लागेर उत्तेजना स्वरुप गरिएको कार्यको उनले आत्मालोचना समेत गरेका छन् ।
समाज, राजनीति र पेशागत मार्यादाप्रति सजग भएर आफू सार्वजनिक सम्पत्ति जोगाउन खटिएको उनले बताए । तर, हुलमुलका बीचमा आफूले संयमता अपनाउन नसकेको उनको स्वीकारोक्ति छ ।
‘म कसैको घर फुटाउन गाको छैन, जलाउन गाको छैन, जलाउछु भन्नेलाई गाली गरेर नजाउ भनेको छु । नगरपालिका फुटाउनु लाग्दा यो हाम्रो सम्पत्तिमा क्षती हुनु हुन्न भनेर रोक्ने पनि म लगायत साथीहरु नै थियौँ । रोक्ने क्रममा भिडले हानेको ढुङ्गा पनि लाग्यो,’ भट्टराईले भनेका छन् ।
उनले पनौती बसपार्कको प्रहरी विट फुटाउन लाग्दा आफूलाई साह्रे दुःख लागेकोले भिड छोडेर आफू चिया खानतिर लागेको बताउँदै उनले भने– ‘त्यही चिया पसलमा हल्ला चल्यो, शिव हुमागाइँको गाडी फुटाए रे भन्ने । त्यसपछि बसपार्कमा निस्केर हामी पुलबाट केही अगाडिसम्म हेर्न गयौँ । यो जुन भिडियो मेरो भाइरल भाको छ, यसमा घर फुटाउन सडकसम्म ल्याउन मेरो कुनै हात छैन । फुटेर अस्थिपन्जर बनेको गाडी भिडको लहैलहैमा मैले जलाएछु ।’
भट्टराईले सो घटना भएको स्थानमा आफू केही सेकेन्ड मात्रै बसेको पनि बताए ।
‘जम्मा १० देखि १५ सेकेन्ड मैले नारा लगाएँ होला, त्योबाहेक विभिन्न दलका साथीहरुले यसको नेतृत्व गरे, आन्दोलन को मैले नेतृत्व गरेको छैन,’ उनले भनेका छन् ।
उनले आफूले कसैको घर जलाउन नउक्साएको भन्दै घर जलाउँदा, फुटाउँदा सहभागी पनि नभएको दाबी गरे ।
भट्टराइले पनौती नगरपालिकामा आक्रमण हुँदा आफूले त्यसलाई रोक्ने प्रयास गरेको पनि बताएका छन् ।